दानबहादुर कार्कीको रिटमा मंसिर ७ गते अर्को सुनुवाइ हुने

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट दानबहादुर कार्कीलाई हटाउने सरकारी निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले मंसिर ७ गते पुनः सुनुवाइ गर्ने भएको छ।

न्यायाधीश श्रीकान्त पौडेलको इजलासले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा छलफल गर्न आगामी सोमबार दुवै पक्षलाई उपस्थित हुन आदेश दिएको हो।

उक्त दिन रिट निवेदक कार्कीतर्फका कानुन व्यवसायी, सरकारी निर्णयको प्रतिरक्षा गर्ने सरकारी वकिल तथा नवनियुक्त आईजीपी डा. मनोजकुमार केसीका तर्फबाट बहस गर्ने कानुन व्यवसायीले आ–आफ्नो पक्ष राख्नेछन्।

यसअघि बुधबार सर्वोच्चले कार्कीलाई तत्काल पदमा पुनर्बहाली गर्न अल्पकालीन अन्तरिम आदेश दिन अस्वीकार गर्दै दुवै पक्षलाई छलफलमा बोलाएको थियो।

मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीबाट हटाएर केसीलाई नियुक्त गर्ने निर्णय गरेको थियो। उक्त निर्णय गैरकानुनी भएको दाबीसहित कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।