सरकारले नागरिकको विश्वास गुमाउँदै गएको छ : प्रदीप पौडेल
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारप्रति नागरिकको विश्वास घट्दै गएको टिप्पणी गरेका छन्।
आइतबार कांग्रेस स्याङ्जा क्षेत्र नम्बर २ (क) को प्रदेश कार्यसमितिको पद हस्तान्तरण तथा प्रशिक्षण कार्यक्रममा बोल्दै पौडेलले सरकारले नागरिकको अपेक्षाअनुसार काम गर्न नसकेको बताएका हुन्।
उनले संविधान संशोधन, भोटेकोसी बाढी प्रभावितका समस्या तथा सुकुम्बासी समस्या समाधानमा सरकारको अपरिपक्वता देखिएको आरोप लगाए।
‘सरकार नागरिकको विश्वास गुमाउँदै गएको छ,’ उनले भने।
पौडेलले नागरिकको विश्वास जित्नुको सट्टा सरकारले लोकतान्त्रिक मूल्य र मान्यतामाथि प्रहार गरिरहेको आरोपसमेत लगाए। निर्वाचन जित्दैमा कानुन मिच्ने छुट कसैलाई नहुने उल्लेख गर्दै उनले लोकतान्त्रिक मूल्य, मान्यता र विधिको शासनको सम्मान गर्न सरकारलाई आग्रह गरे।
सरकारले कानुनी प्रक्रियाको नाममा नागरिकलाई तर्साउने काम गर्न नहुने उनको भनाइ थियो। कांग्रेस रहेसम्म लोकतन्त्र र प्रेस स्वतन्त्रता कसैले खोस्न नसक्ने दाबी गर्दै उनले लोकतान्त्रिक अधिकारको संरक्षणमा पार्टी प्रतिबद्ध रहेको बताए।
