सोलुखुम्बुमा दुई हेलिकोप्टर ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु, घाइतेलाई काठमाडौं ल्याइयो

काठमाडौं । सोलुखुम्बुको फेरिचे हेलिप्याडमा अवतरणका क्रममा दुई हेलिकोप्टर एकआपसमा ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको छ। दुर्घटनामा अर्का एक जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङका अनुसार दुर्घटनामा एक विदेशी नागरिकको मृत्यु भएको हो भने एक जना घाइते भएका छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार फिस्टेल एयर र डायनेस्टी एयरका हेलिकोप्टर फेरिचे हेलिप्याडमा अवतरण गर्ने क्रममा ठोक्किएका हुन्।

दुर्घटनामा भारतीय नागरिक ४७ वर्षीय वसन्तकुमार बलारा माडुको मृत्यु भएको छ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले अवतरणका क्रममा दुवै हेलिकोप्टरका पंखा एकआपसमा ठोक्किएको प्रारम्भिक जानकारी प्राप्त भएको बताए। घटनाबारे थप विवरण संकलन भइरहेको उनले जानकारी दिए।

घाइते भएका व्यक्तिलाई उपचारका लागि ललितपुरस्थित नेपाल मेडिसिटी अस्पताल ल्याइएको छ।

दुर्घटनामा घाइते भएका भारतीय मूलका न्युजिल्यान्डका नागरिक ५३ वर्षीय शैलेश किसन पटेललाई मेडिसिटी अस्पताल ल्याइएको हो।

यस्तै अर्का घाइते फिस्टेल हेलिकप्टरका पाइलटलाई पनि सोही अस्पताल ल्याइएको छ। उनी सामान्य घाइते छन् भने तत्काल परिचय खुलिसकेको छैन।