मोइनको अर्धशतकमा जनकपुरको पहिलो जित, काठमाण्डु ८ विकेटले पराजित

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले पहिलो जित निकालेको छ। मोइन अलीको अविजित अर्धशतकप्रेरित जनकपुरले काठमाण्डु गोर्खाजलाई ८ विकेटले पराजित गरेको हो।

काठमाण्डुले दिएको ११६ रनको लक्ष्य जनकपुरले १७.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो। जनकपुरका लागि मोइनले ५१ बलमा ५८ रन बनाए। उनले ३ चौका र ३ छक्का प्रहार गरे। सैफ हसन ३९ बलमा ४० रन बनाएर अविजित रहे।

मोइन र सैफले तेस्रो विकेटका लागि अविजित ७९ रनको साझेदारी गर्दै टोलीलाई जित दिलाए। जनकपुरले ७ रनमा तृतराज दास (५) र ३७ रनमा मयन यादव (९) लाई गुमाएको थियो। काठमाण्डुका रिपोन मोन्डलले एक विकेट लिए।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाण्डु १९.३ ओभरमा ११५ रनमा अलआउट भएको थियो। उसका भीम सार्कीले सर्वाधिक ३३ रन बनाए। उनले २९ बलमा चार चौका प्रहार गरे।

काठमाण्डुलाई सस्तैमा समेट्ने क्रममा जनकपुरका राहुल यादवले उत्कृष्ट बलिङ गरे। उनले चार ओभरमा ३१ रन खर्चेर चार विकेट लिए। सैफ हसनले दुई तथा मोइन अली, कप्तान हर्मीत सिंह र ललित राजवंशीले एक–एक विकेट लिए।

काठमाण्डुले सुरुदेखि नै नियमित अन्तरालमा विकेट गुमाएको थियो। साम हिजलेट एक, हरिशंकर शाह नौ, रसिद खान १७, स्मित पटेल १३, सुमित महर्जन १० र कप्तान करण केसी आठ रनमा आउट भए। जहानदाद खानले पाँच र मोहम्मद आदिल आलमले शून्य रन बनाए। रिपोन मोन्डल नौ रनमा आउट हुँदा शाहव आलम चार रनमा अविजित रहे।

पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको जनकपुरले दोस्रो खेलमा जित निकाल्दै प्रतियोगितामा खाता खोलेको हो।

आजै हुने दोस्रो खेलमा साँझ ५ बजे विराटनगर किंग्स र कर्णाली याक्स भिड्नेछन्।