आफ्नै किरियाकर्म सकिएको ६ महिनापछि घर फर्किए पदमबहादुर
विराटनगर । मृत्यु भएको ठानेर दाहसंस्कार र काजकिरिया गरिसकेका मोरङको लेटाङका ३७ वर्षीय पदमबहादुर राय क्षेत्री ६ महिनापछि जीवितै घर फर्किएका छन्। परिवारले उनको दुर्घटना बीमाबापत पाँच लाख रुपैयाँसमेत बुझिसकेको थियो। उनी घर फर्किएपछि अन्त्येष्टि गरिएको शवको वास्तविक पहिचानमाथि प्रश्न उठेको छ।
पदमबहादुर २०८२ माघदेखि बेपत्ता थिए। यसैबीच, २०८३ जेठ २६ गते सुनसरीको बराहक्षेत्र नगरपालिका–४ स्थित चतरा–पकली सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्री घाइते भए। उपचारका क्रममा भोलिपल्ट उनको मृत्यु भयो।
शव कोसी अस्पतालको शवगृहमा राखिएपछि प्रहरीले पहिचानका लागि तस्बिर सार्वजनिक गरेको थियो। बेपत्ता छोराको खोजीमा रहेका पदमबहादुरका बुबा नारायण राय क्षेत्री जेठ २९ गते अस्पताल पुगे र शव आफ्नै छोराको भएको भन्दै सनाखत गरे। त्यसपछि परिवारले अन्त्येष्टि र काजकिरिया गरेको थियो।
तर, गत कात्तिक ९ गते पदमबहादुर अचानक घर फर्किए। परिवारका अनुसार उनी भौँतारिँदै भारतको पञ्जाब पुगेका थिए, जहाँ काम गरेर बसिरहेका थिए। आफूलाई मृत घोषणा गरिएको र परिवारले काजकिरियासमेत गरिसकेको उनलाई थाहा थिएन।
जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार परिवारले दुर्घटना बीमाबापत पाँच लाख रुपैयाँसमेत बुझिसकेको छ। अब मृत्यु दर्तालगायत कागजात सच्याउने र बीमाको रकम फिर्ता गर्ने विषयमा कानुनी परामर्श भइरहेको छ।
घटना सुनसरीमा भएकाले परिवारलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउन त्यहीँ जान सुझाव दिइएको मिश्रले बताए। जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काका अनुसार परिवार र जनप्रतिनिधिको टोलीसँग घटनाबारे छलफल भइरहेको छ।
पदमबहादुर जीवितै फर्किएपछि अब जेठ २७ गते मृत्यु भएका र उनको ठानेर अन्त्येष्टि गरिएको व्यक्तिको वास्तविक पहिचान खुलाउनुपर्ने भएको छ। घटनाले शव सनाखत प्रक्रिया र वैज्ञानिक पहिचान प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ।
