कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई शपथ गराएका हुन्।
सभापति थापाले यसअघि असोज ३१ गते नै पद तथा गोपनीयताको शपथ लिइसकेका थिए।
असोज १८ देखि २३ गतेसम्म काठमाडौंमा सम्पन्न महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम नतिजा असोज ३० गते सार्वजनिक गरिएको थियो।
शपथ ग्रहणपछि कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक आजै बस्ने कार्यक्रम छ।
नेपाली कांग्रेसले नवनिर्वाचित ४ केन्द्रीय सदस्यको शपथ रोक्ने भएको छ। अदालतमा मुद्दा विचाराधीन रहेकाले १५ औँ महाधिवेशनबाट निर्वाचित चार केन्द्रीय सदस्यको शपथ रोक्न लागेको हो।
अदालतमा मुद्दा रहेकाले नवनिर्वाचित केन्द्रीय सदस्य सन्तोष चालिसे, विनीता खड्का, मोहन बस्नेत र उमेशचन्द्र यादवले शपथ गर्न नपाउने भएका हुन्।
खड्का केन्द्रीय सदस्यमा विजयी भएपनि निर्वाचन समितिले निर्वाचित भएकोसम्म घोषणा गरेको छैन।
यस्तै, केन्द्रीय सदस्यका उम्मेदवार सौगात थापाले ३५ वर्षमुनिको क्लस्टरबाट निर्वाचित सुशील भट्टको पनि शपथ रोक्न माग गरेका छन्। भट्ट ३६ वर्ष पुगेको भन्दै हिजो निर्वाचन आयोगमा उजुरी दिएका छन्।

