इनाम सापकोटा सम्बन्धी मुद्दाको अनुसन्धान गोप्य छ, भ्रमपूर्ण सामग्री नफैल्याऔं : प्रहरी
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले इनाम सापकोटासमेत प्रतिवादी रहेको मुद्दाको अनुसन्धान गोप्य रहेकाले भ्रमपूर्ण सामग्री सम्प्रेषण नगर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ।
प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाद्वारा जारी विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित विषय सार्वजनिक गरिएकोप्रति ध्यानाकर्षण भएको जनाइएको छ।
प्रचलित कानुन र प्रक्रियाअनुसार मुद्दाको अनुसन्धान भइरहेको भन्दै प्रहरीले संवेदनशील विवरण, प्रमाण तथा सूचना कुनै व्यक्ति वा पक्षलाई उपलब्ध नगराइएको स्पष्ट पारेको छ।
अनुसन्धानको निष्पक्षता, व्यावसायिकता र गोपनीयता कायम राख्न प्रहरी प्रतिबद्ध रहेको उल्लेख गर्दै विज्ञप्तिमा मुद्दासम्बन्धी सूचना तथा सामग्री प्रकाशन वा सम्प्रेषण गर्दा आधिकारिकता पुष्टि गर्न आग्रह गरिएको छ।
अनुसन्धानको संवेदनशीलता र कानुनी व्यवस्थाविपरीत सामग्री प्रकाशन वा सम्प्रेषण भए कानुनबमोजिम हुने पनि प्रहरीले जनाएको छ।

