कांग्रेस महाधिवेशनः १९ पदाधिकारीका लागि ७९ जनाको उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पदाधिकारीसहित विभिन्न पदमा उम्मेदवारी दिएका नेताहरूको प्रारम्भिक नामावली सार्वजनिक भएको छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले उम्मेदवारहरूको प्रथम नामावली सार्वजनिक गरेको हो ।

कांग्रेसको विधानअनुसार सभापति एक, वरिष्ठ उपसभापति एक, उपसभापति चार, महामन्त्री तीन, सहमहामन्त्री १५ र कोषाध्यक्ष एक गरी २४ जना पदाधिकारी रहने व्यवस्था छ। त्यसमध्ये सहमहामन्त्री चार र कोषाध्यक्ष एक जना सभापतिले मनोनीत गर्ने भएकाले १९ जना पदाधिकारी निर्वाचनबाट चयन हुनेछन् ।

निर्वाचन समितिका अनुसार १९ पदाधिकारीका लागि ७९ जनाको उम्मेदवारी परेको छ ।

सभापति पदका लागि तीन जनाको उम्मेदवारी परेको छ। वर्तमान सभापति गगन थापा, पूर्व सहमहामन्त्री किशोरसिंह राठोर र श्यामकृष्ण खड्गीले सभापतिमा उम्मेदवारी दिएका छन् ।

यस्तै, वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्माको एकल उम्मेदवारी परेको छ। समावेशी व्यवस्थाअनुसार एक महिला र दुई खुलातर्फ गरी चार उपसभापति निर्वाचित हुनेछन् ।

महिला उपसभापति पदमा पुष्पा भुसालको पनि एकल उम्मेदवारी परेको छ। शर्मा र भुसाल दुवै हाल कांग्रेसका उपसभापति छ्न् ।

निर्वाचन समितिले सार्वजनिक गरेको प्रथम नामावलीमा कुनै दाबी–विरोध भए त्यसका लागि आज बिहान १० बजेदेखि १२ बजेसम्मको समय तोकिएको छ।