आकांक्षीलाई व्यवस्थापन गर्न कांग्रेसमा वरिष्ठ उपसभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्य थपिँदै

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको पदाधिकारी र केन्द्रीय समितिको आकार बढाउने तयारी गरेको छ। पार्टीभित्रका विभिन्न समूह र नेतृत्वका आकांक्षीलाई व्यवस्थापन गर्ने उद्देश्यले विधान संशोधनमार्फत पदाधिकारी तथा केन्द्रीय सदस्यको संख्या थप गर्न लागिएको हो।

महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा रहेको विधान संशोधन मस्यौदा समितिले पार्टी पंक्तिबाट प्राप्त सुझावका आधारमा पदाधिकारीको संख्या बढाउने प्रस्ताव अघि बढाएको छ।

प्रस्तावअनुसार हाल दुई जना रहेको उपसभापतिको संख्या बढाएर तीन पुर्‍याउने तयारी छ। त्यसमध्ये एक पदमा महिला अनिवार्य गर्ने तथा एक जना वरिष्ठ उपसभापतिको पद सिर्जना गर्ने विषयमा छलफल भइरहेको छ। महामन्त्रीको संख्या भने दुई जना नै कायम रहनेछ।

यस्तै, सहमहामन्त्रीको संख्या पनि बढाउने तयारी छ। हाल जनजाति, मधेसी, थारू, मुस्लिम, महिला, खस आर्य, पिछडिएको क्षेत्र र दलित गरी आठ समावेशी समूहबाट सहमहामन्त्री चयन हुने व्यवस्था छ। अब समावेशी समूहसँगै खुलातर्फबाट पनि सहमहामन्त्री निर्वाचित गर्ने व्यवस्था थप्नेबारे छलफल भइरहेको कांग्रेसका एक नेताले बताए।

कांग्रेसको वर्तमान विधानअनुसार केन्द्रीय समितिमा २३१ सदस्य रहने व्यवस्था छ। यसमा पनि सदस्य संख्या बढाउने तयारी गरिएको छ। विशेषगरी खुलातर्फ हाल ३५ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्थामा संख्या थप गर्ने विषयमा छलफल भइरहेको छ। थपिने संख्या भने अझै टुंगो लागिसकेको छैन।

विधान संशोधन मस्यौदा समितिले यसअघि सभापतिले ६१ जना केन्द्रीय सदस्य मनोनीत गर्न पाउने गरी प्रस्ताव तयार गरेको थियो। वरिष्ठ उपसभापति, थप सहमहामन्त्री र केन्द्रीय सदस्यको संख्या समेटिएपछि केन्द्रीय समितिको कुल आकार अझ बढ्नेछ।

तर, ३५ वर्षमुनिबाट २१ जना, पेशागत तथा बुद्धिजीवी क्षेत्रबाट सात जना र जनसम्पर्क समितिबाट छ जना चयन हुने व्यवस्थामा भने तत्काल संशोधन नगर्ने तयारी छ।

कांग्रेसमा १५औँ महाधिवेशन नजिकिँदै गर्दा नेतृत्वका आकांक्षीको संख्या बढेकाले विभिन्न पदमा व्यवस्थापन गर्न विधान संशोधनको तयारी गरिएको हो। पार्टीभित्रका विभिन्न समूह र मनोविज्ञानलाई समेट्न पदाधिकारी तथा केन्द्रीय सदस्यको संख्या बढाउनुपर्ने दबाब नेतृत्वमाथि परेको बताइएको छ।

विधान संशोधन मस्यौदा समितिले तयार गरेको प्रस्ताव पार्टीमा पेस हुनेछ। त्यसपछि केन्द्रीय समितिले अनुमोदन गरेपछि महाधिवेशनबाट पारित गराउने प्रक्रिया अघि बढ्नेछ।

महामन्त्री पौडेलको नेतृत्वमा रहेको मस्यौदा समितिमा जीवन परियार, ईश्वरी न्यौपाने र राजीव ढुंगाना सदस्य तथा प्रताप पौडेल सदस्य सचिव छन्।