कांग्रेस महाधिवेशनमा उम्मेदवारका लागि ४ बुँदे आचारसंहिता, उल्लंघन गरे कारबाही

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विभिन्न पदमा उम्मेदवारी दिने नेताहरूका लागि केन्द्रीय निर्वाचन समितिले चारबुँदे आचारसंहिता जारी गरेको छ।

राष्ट्रिय संवेदना र वातावरणीय अवस्थालाई ध्यानमा राख्दै उम्मेदवार तथा महाधिवेशनमा सहभागी सबैलाई लक्षित गरी आचारसंहिता कडाइका साथ लागू गरिएको समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए।

समितिले महाधिवेशनलाई अनुशासित, मर्यादित र व्यवस्थित रूपमा सम्पन्न गर्न नेता, कार्यकर्ता, उम्मेदवार तथा शुभेच्छुकलाई आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरेको छ।

देश विपद्को अवस्थामा रहेकाले राष्ट्रिय संवेदना र जनताप्रतिको दायित्वलाई समेत ध्यानमा राखेर निर्वाचनसम्बन्धी गतिविधि सञ्चालन गर्न समितिले अपिल गरेको छ।

निर्वाचन समितिले आचारसंहिता उल्लंघन गर्ने उम्मेदवार वा सम्बन्धित व्यक्तिमाथि प्रचलित नियमअनुसार कारबाही गर्ने चेतावनी दिएको छ।

यी हुन् चार आचारसंहित

१. तडकभडक र भड्किलो प्रचारप्रसारमा पूर्ण

रोक, विपद्पछिको परिस्थितिलाई सम्मान गर्दै महाधिवेशनलाई मर्यादित, मितव्ययी र अनुशासित बनाउन जुनसुकै प्रकारका भड्किला प्रचार अभियानहरूलाई पूर्ण रूपमा निषेध गरिएको छ ।

२. प्रिन्ट तथा भौतिक प्रचार सामग्रीमा पूर्ण

प्रतिबन्ध, महाधिवेशन स्थल तथा आसपासका कुनै पनि क्षेत्रमा फ्लेक्स, ब्यानर, पोस्टर, पम्प्लेट वा अन्य कुनै पनि प्रकारका प्रिन्टेड प्रचार सामग्री राख्न, टाँस्न वा वितरण गर्न पूर्ण रूपमा निषेध गरिएको छ ।

३. महाधिवेशन स्थल बाहिर प्रचारप्रसार गर्न

नपाइने, महाधिवेशन स्थलको बाहिरी परिसर, सार्वजनिक सडक वा आसपासका क्षेत्रहरूमा कुनै पनि प्रकृतिका भौतिक प्रचार सामग्रीहरू राख्न वा प्रदर्शन गर्न सख्त मनाही गरिएको छ ।

४. डिजिटल तथा प्रविधिमैत्री प्रचारप्रसार मात्र

अनुमति, उम्मेदवारहरूले आफ्ना एजेन्डा र उम्मेदवारी सम्बन्धी विवरण केवल डिजिटल माध्यम (सामाजिक सञ्जाल, अनलाइन तथा अन्य विद्युतीय माध्यम) बाट मात्र सम्प्रेषण गर्न सक्नुहुनेछ ।