विपद् संकटग्रस्त क्षेत्रका जनप्रतिनिधिसँग प्रधानमन्त्री बालेनको छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी बाढीबाट प्रभावित तथा विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका स्थानीय तहका जनप्रतिनिधिसँग छलफल सुरु गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार बिहान ११ बजेदेखि नुवाकोट, रसुवा, धादिङ, गोरखा र तनहुँका प्रभावित १५ स्थानीय तहका प्रमुख तथा प्रतिनिधिसभा सदस्यसँग छलफल भइरहेको छ।

छलफलमा बाढीपछि प्रभावित क्षेत्रमा देखिएको अवस्था, उद्धार तथा राहतको प्रगति, तत्काल गर्नुपर्ने काम र पुनःस्थापना तथा पुनरुत्थानका विषयमा समीक्षा भइरहेको छ। प्रभावित क्षेत्रको आवश्यकता र स्थानीय तहले भोगिरहेका समस्याबारे जनप्रतिनिधिबाट जानकारी लिएर आगामी कदम तय गर्ने विषयमा पनि छलफल केन्द्रित छ।

छलफलमा नुवाकोटबाट प्रतिनिधिसभा सदस्य विक्रम तिमिल्सिना र अच्युतम लामिछाने तथा विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, बेलकोटगढी नगरपालिकाका प्रमुख जगतबहादुर गुरुङ, किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ र तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारी सहभागी छन्।

रसुवाबाट उत्तरगया गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्याल, कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटा र आमाछोदिङमो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङ सहभागी छन्। गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङ भने अनलाइनमार्फत सहभागी भएका छन्।

त्यस्तै, धादिङबाट गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडा, सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडा, गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ र बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक) सहभागी छन्।

तनहुँबाट देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा र आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान तथा गोरखाको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिना (साकार) पनि छलफलमा सहभागी छन्।