उपाधि जितेर स्वदेश फर्किएको राष्ट्रिय क्रिकेट टोलीलाई काठमाडौँमा भव्य स्वागत
काठमाडौँ । मलेसियामा सम्पन्न ‘एसीसी प्रिमियर कप २०२६’को उपाधि जित्दै एसिया कपमा स्थान सुरक्षित गरेको नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ।
गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको नेपाली टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्का, उपाध्यक्ष रोशनकुमार सिंहलगायत पदाधिकारीले स्वागत गरेका छन्।
टोलीलाई स्वागत गर्दै क्यान सचिव खड्काले एसीसी प्रिमियर कपको उपाधि जितेकोमा खेलाडीहरूलाई बधाई दिँदै आगामी प्रतियोगितामा पनि उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिए।
गत शनिबार भएको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)लाई ४४ रनले पराजित गर्दै एसीसी प्रिमियर कपको उपाधि दोस्रोपटक जितेको हो।
उपाधिसँगै नेपालले आगामी वर्ष बङ्गलादेशमा आयोजना हुने एसिया कपमा समेत स्थान सुरक्षित गरेको छ।
यससँगै नेपालले दोस्रोपटक एसिया कप खेल्ने अवसर पाएको छ। यसअघि नेपाली टोलीले सन् २०२३ मा पहिलोपटक एसिया कपमा सहभागिता जनाएको थियो।

