आज हरितालिका तीज : शिव–पार्वतीको पूजा–आराधना गरी देशभर मनाइँदै
काठमाडौँ । हिन्दू महिलाहरूको प्रमुख पर्व हरितालिका तीज आज भाद्र शुक्ल तृतीयाका दिन शिव–पार्वतीको पूजा–आराधना र व्रत बसेर देशभर मनाइँदैछ।
तीजका अवसरमा विवाहित महिलाले पतिको दीर्घायु, सुख–समृद्धि र पारिवारिक कल्याणको कामना गर्दै व्रत बस्ने गर्छन् भने अविवाहित महिलाले सुयोग्य वरको कामना गर्ने धार्मिक परम्परा छ। भाद्र शुक्ल तृतीयाका दिन शिव–पार्वतीको पूजा तथा उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ।
पौराणिक मान्यताअनुसार सत्ययुगमा हिमालय पुत्री पार्वतीले महादेवलाई पति पाउन कठोर तपस्या गरेकी थिइन्। पिता हिमालयले पार्वतीको इच्छाविपरीत विष्णुसँग विवाह गरिदिन खोजेपछि उनका साथीहरूले उनलाई हरण गरी कसैले नदेख्ने स्थानमा लुकाएर राखेका थिए। त्यहीँ पार्वतीले निराहार व्रत बसी महादेवलाई पति रूपमा प्राप्त गरेको विश्वास गरिन्छ।
पार्वतीलाई साथीहरूले हरण गरेको दिन भाद्र शुक्ल तृतीया भएकाले यही दिनदेखि हरितालिका तीजको व्रत बस्ने परम्परा सुरु भएको धर्मशास्त्रीय मान्यता छ। संस्कृतका ‘हरित’ र ‘आलिका’ शब्दबाट ‘हरितालिका’ बनेको मानिन्छ। ‘हरित’को अर्थ हरण गरिएको र ‘आलिका’को अर्थ साथी भन्ने हुन्छ।
तीजको व्रत निराहार, जलाहार वा फलाहारका रूपमा बस्ने गरिन्छ। धार्मिक ग्रन्थमा व्रत बस्दा आफ्नो स्वास्थ्यको रक्षा गर्नुपर्ने उल्लेख छ। औषधि सेवन गर्दा व्रत भङ्ग नहुने तथा तीजको व्रतमा अन्न सेवन नगरी फलफूल, दूध र पानी ग्रहण गर्न सकिने धार्मिक मान्यता रहेको छ।
यसैबीच, तीजका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनका लागि विशेष व्यवस्था गरिएको छ। पशुपति क्षेत्र विकास कोषका अनुसार मन्दिर प्रवेशका लागि चार वटा दर्शनमार्गको व्यवस्था गरिएको छ।
मन्दिर परिसरभित्र प्रवेश गरेपछि भक्तजनलाई आठ वटा लाइनमा विभाजन गरिनेछ। एकपटकमा आठ जना भक्तजनले मूल मन्दिरमा दर्शन गर्न सक्ने गरी व्यवस्था मिलाइएको कोषले जनाएको छ।
