तीज मनाउन माइती हिँडेकी महिलालाई खोलाले बगायो, अवस्था अज्ञात
गुल्मी । गुल्मीमा निस्सी खोलाले बगाउँदा एक महिला बेपत्ता भएकी छन्।
मुसीकोट नगरपालिका–५, इन्द्रगौडाकी अन्दाजी २८/२९ वर्षीया कल्पना पुन आइतबार साँझ तीज मनाउन माइतीघर जाने क्रममा खोलाले बगाउँदा बेपत्ता भएकी हुन्।
प्रहरीका अनुसार पुन घरबाट इस्मा गाउँपालिका–४, हुलास्थित माइतीघर जाने क्रममा साँझ करिब ७ बजे निस्सी खोला तर्दै थिइन्। सोही क्रममा उनलाई खोलाले बगाएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ।
घटनाबारे स्थानीयमार्फत जानकारी पाएपछि प्रहरी चौकी इस्माबाट प्रहरी सहायक निरीक्षक सुमन रावतको नेतृत्वमा चार जनाको टोली घटनास्थलतर्फ परिचालन गरिएको छ।
त्यस्तै, प्रहरी चौकी पौदीअमराईबाट प्रहरी वरिष्ठ नायब निरीक्षक विजयनाथ यादवको नेतृत्वमा चार जनाको टोली पनि खोजी तथा उद्धारका लागि खटाइएको प्रहरीले जनाएको छ।
प्रहरी टोलीले स्थानीयको सहयोगमा बेपत्ता पुनको खोजी गरिरहेको छ। उनको अवस्था भने हालसम्म अज्ञात रहेको प्रहरीले जनाएको छ।
