ग्यास अभाव समाधान गर्न छलफल थाल्छु : नवनियुक्त उद्योगमन्त्री साह
काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक साहले पदभार ग्रहण गरेका छन्।
बिहीबार शपथ ग्रहणलगत्तै सिंहदरबारस्थित मन्त्रालय पुगेर साहले पदभार ग्रहण गरेका हुन्।
पदभार ग्रहणपछि मन्त्री साहले निवर्तमानमन्त्री गौरीकुमारी यादवसँग छलफल गरेर मन्त्रालयका आगामी योजना तथा कार्यक्रम अघि बढाउने बताए।
बजारमा देखिएको ग्यास अभावको समस्या समाधानका लागि पनि मन्त्रालयका कर्मचारी र निवर्तमानमन्त्री यादवसँग आवश्यक छलफल गरेर काम अघि बढाउने उनको भनाइ छ।
‘ग्यास अभावको समस्या समाधानका लागि मन्त्रालयका कर्मचारी र निवर्तमानमन्त्रीज्यूसँग छलफल गरेर आवश्यक कदम चाल्छु,’ मन्त्री साहले भने।
हाल निवर्तमानमन्त्री यादवले मन्त्रालयका कर्मचारीहरूसँग छलफल गरिरहेको जनाइएको छ।
प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा राष्ट्रपतिले बिहीबार साहलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्त गरेका थिए।
