चीनले नेपाललाई हिमतालको जोखिम र मौसमसम्बन्धी सूचना उपलब्ध गराउने
काठमाडौँ । चीनले नेपाललाई हिमतालको जोखिम तथा मौसमसम्बन्धी सूचना निरन्तर उपलब्ध गराउने भएको छ ।
काठमाडौंस्थित चिनियाँ दूतावासले सामाजिक सञ्जालमार्फत चीनको जलस्रोत मन्त्रालयलाई उद्धृत गर्दै नेपाललाई हिमतालको जोखिमसँगै आपत्कालीन जलविज्ञान तथा मौसमसम्बन्धी सूचना उपलब्ध गराउने जानकारी दिएको हो ।
दूतावासका अनुसार उद्धार तथा विपद् राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले चीनले हिमतालको जोखिम, सम्भावित अवरोधलगायत विषय समेटिएका आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर उपलब्ध गराउनेछ ।
‘चीनले नेपाललाई उद्धार तथा विपद् राहत कार्यमा सहयोग पुर्याउन हिमतालको जोखिम र अवरोधलाई समेट्दै आपतकालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचनाहरू निरन्तर उपलब्ध गराउनेछ,’ दूतावासले जनाएको छ ।
भोटेकोसी बाढीपछि चीनले नेपाललाई मौसम अनुगमन, मौसम पूर्वानुमान, पूर्वचेतावनी तथा सम्भावित प्रभावसम्बन्धी सूचना उपलब्ध गराउँदै आएको पनि दूतावासले जनाएको छ ।
चाइना मेटियोरोलोजिकल एडमिनिस्ट्रेसनले पत्रकार सम्मेलनमार्फत यसबारे जानकारी सार्वजनिक गरेको दूतावासले उल्लेख गरेको छ । बाढी आएलगत्तै नेपालको जल तथा मौसम विज्ञान विभागसँग भिडियो परामर्श बैठकसमेत गरिएको जनाएको छ ।
भोटेकोसी बाढीपछि उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन चीनले मौसम पूर्वानुमान तथा पूर्वचेतावनीसम्बन्धी सहयोग उपलब्ध गराउँदै आएको दूतावासले जनाएको छ ।
