साइबर र वित्तीय अपराध नियन्त्रण गर्न उच्च प्रविधिमैत्री संयन्त्र निर्माणलाई प्राथमिकता ः आईजी कार्की
काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बढ्दो साइबर तथा वित्तीय अपराध नियन्त्रणका लागि उच्च प्रविधिमैत्री संयन्त्र निर्माणलाई प्राथमिकतामा राखिएको बताएका छन् ।
७१औँ प्रहरी दिवस तथा अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण कार्यक्रममा बोल्दै उनले नेपाल प्रहरी, नेपाल राष्ट्र बैंक, इन्टरनेट तथा दूरसञ्चार सेवा प्रदायक र डिजिटल वालेटहरूलाई एउटै प्लेटफर्ममा आबद्ध गरी नागरिकका गुनासो प्रभावकारी रूपमा सम्बोधन गर्ने तयारी भइरहेको जानकारी दिए ।
‘विपद्मा सारथी, संकटमा छहारी, प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ मनाइएको प्रहरी दिवसका अवसरमा आईजीपी कार्कीले हालैका भोटेकोशी र त्रिशूलीलगायत विभिन्न विपद् तथा अन्य घटनामा राष्ट्रसेवाका क्रममा वीरगति प्राप्त गर्ने अमर प्रहरीहरूप्रति श्रद्धाञ्जली अर्पण गरे ।
उनले कर्तव्य निर्वाहका क्रममा घाइते तथा अशक्त भएका प्रहरी कर्मचारीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रहरी संगठन निर्माण र विकासमा योगदान पुर्याउने पूर्व तथा बहालवाला प्रहरी कर्मचारीप्रति आभार व्यक्त गरे ।
आगामी दिनमा आइपर्न सक्ने विपद्को सामना गर्न नेपाल प्रहरीलाई सक्षम बनाउन सरकारले नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम तथा पूर्वाधार विकासमा जोड दिएको पनि उनले बताए ।
आईजीपी कार्कीले नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने सरकारको योजना रहेको जानकारी दिँदै प्रहरी दिवसका अवसरमा विमोचित ‘पुलिस मिरर’ ले प्रहरीको इतिहास र वर्तमानलाई नयाँ पुस्तासँग जोड्ने विश्वास व्यक्त गरे ।
