भोटेकोशी बाढी प्रभावित व्यवसायीका लागि पुनरुत्थान प्याकेज घोषणा
काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट प्रभावित व्यवसायीका लागि व्यवसाय पुनरुत्थान प्याकेज घोषणा गरेको छ।
अर्थ मन्त्रालयको प्रस्तावमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बाढीका कारण ठूलो क्षति व्यहोरेका व्यवसायीलाई राहत तथा पुनःव्यवस्थापनमा सहयोग पुग्ने गरी विभिन्न सुविधा दिने निर्णय गरेको हो।
अर्थ मन्त्रालयका अनुसार बाढीका कारण मर्मतसम्भार गर्न नसकिने गरी क्षतिग्रस्त भएका वा बगाएर हराएका व्यावसायिक प्रयोजनका सवारी तथा ढुवानी साधनको दर्ता खारेज गरी सोही प्रकृतिका सवारी वा ढुवानी साधन पुनःआयात गर्न चाहेमा भन्सार बिन्दुमा लाग्ने सम्पूर्ण महसुल छुट दिइनेछ।
त्यस्तै, बाढीका कारण कुनै व्यक्ति वा संस्थाको प्लान्ट, मेसिनरी, यन्त्र तथा उपकरण मर्मत गर्न नसकिने गरी नष्ट भएको अवस्थामा नष्ट भएको परिमाणभन्दा बढी नहुने गरी सोही प्रकृतिका सामग्री आयात गरेमा त्यसमा लाग्ने भन्सार महसुलसमेत पूर्ण रूपमा छुट दिने निर्णय भएको छ।
यसैगरी, कुनै आयातकर्ताले भन्सार कार्यालयमा महसुल बुझाइसकेको तर भदौ १० गतेको बाढीका कारण गन्तव्यमा पुग्नुअघि नै सम्बन्धित वस्तु नष्ट भएको अवस्थामा ६ महिनाभित्र सोही प्रकृतिको वस्तु पुनः आयात गरेमा पहिले तिरेको महसुल बराबरको रकम समायोजन गर्न दिने व्यवस्था गरिएको छ।
अर्थ मन्त्रालयका अनुसार बिहीबार घोषणा गरिएको प्याकेज प्रारम्भिक चरणको हो। बाढीबाट प्रभावित व्यवसाय तथा उद्यमको क्षतिको थप अध्ययनपछि सरकारले थप पुनरुत्थान प्याकेजसमेत घोषणा गर्ने तयारी गरेको छ।
बाढीबाट प्रभावित व्यवसायीलाई क्षतिग्रस्त संरचना, सवारीसाधन, मेसिनरी तथा उपकरण पुनःस्थापना गर्न सहज होस् भन्ने उद्देश्यले सरकारले यस्तो सुविधा घोषणा गरेको हो।
