जेनजी आन्दोलनमा फरार युवाले गरे ६१ वर्षीय महिलामाथि जवरजस्ती करणी
रामेछाप । गत वर्षको जेनजी आन्दोलनका क्रममा प्रहरी हिरासतबाट फरार भएका एक युवक ६१ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार भदौ २ गते ६१ वर्षीया महिलामाथि जबरजस्ती करणी गरी फरार रहेका प्रेम बिसुङ्खेलाई भदौ ३ गते दिउँसो पक्राउ गरिएको हो।
प्रहरीले उनलाई रामेछाप नगरपालिका–४, तिलबारी क्षेत्रमा लुकिछिपी बसिरहेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ।
अदालतबाट म्याद थप गरी घटनाबारे अनुसन्धान अघि बढाउने क्रममा बिसुङ्खे यसअघि पनि प्रहरी हिरासतबाट फरार रहेको खुलेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनी २०८२ भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा चोरी मुद्दाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पकली, सुनसरीको हिरासतमा रहेका थिए। आन्दोलनका क्रममा उनी हिरासत कक्षबाट भागेर फरार भएका थिए।
प्रहरीले पछिल्लो जबरजस्ती करणीसम्बन्धी घटनाका साथै उनी फरार रहेको अन्य घटनाबारे समेत थप अनुसन्धान भइरहेको जनाएको छ।
