मेयर्स फोरमले फोहोर व्यवस्थापन लगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने

काठमाडौं । काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा संस्था काठमाडौं उपत्यका मेयर्स फोरमले प्रधानमन्त्री वालेन्द्र शाहलाई भेटेर उपत्यकाको फोहोर व्यवस्थापनलगायत समसामयिक विषयमा ध्यानाकर्षण गराउने निर्णय गरेको छ।

आज बसेको फोरमको आकस्मिक बैठकले प्रधानमन्त्रीसँग जतिसक्दो छिटो भेटघाटको समय मिलाउने र उपत्यकाको फोहोर व्यवस्थापनका विषयमा छलफल गर्ने निर्णय गरेको हो।

प्रधानमन्त्रीसँगको भेटमा सडक बत्तीको शुल्क व्यवस्थापन, स्थानीय तहले प्रयोग गर्दै आएका जग्गाको भोगाधिकार तथा फोहोर व्यवस्थापनका लागि आवश्यक जग्गा उपलब्ध गराउने विषयमा समेत छलफल गरिने फोरमले जनाएको छ।

बैठकले गत भदौ ५ गते सिंहदरबारमा भएको फोहोर व्यवस्थापनसम्बन्धी बैठकका क्रममा फोरमका पदाधिकारी तथा सदस्यहरूप्रति सांसद आशिका तामाङले गरेको व्यवहारप्रति समेत घोर आपत्ति जनाएको छ। उक्त विषयमा पनि प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराइने फोरमको निर्णय छ।

फोरमका अनुसार उपत्यकाको फोहोर व्यवस्थापनको विषयमा प्रधानमन्त्री शाह काठमाडौं महानगरपालिकाको प्रमुख रहँदादेखि नै निरन्तर छलफल हुँदै आएको छ। तत्कालीन सरकार र नेप बेस्टबीच भएको सम्झौता कार्यान्वयन गर्ने वा सम्झौता खारेज गरेर फोहोर व्यवस्थापनका लागि नयाँ विकल्प खुला गर्ने विषयमा समेत फोरमका विभिन्न बैठकमा पटकपटक छलफल भएको जनाएको छ।

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन संघ, प्रदेश र स्थानीय तह तीनै तहका सरकारको साझा सरोकारको विषय भएकाले यसको दीर्घकालीन समाधानका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको फोरमले जनाएको छ।

फोरमले फोहोर व्यवस्थापनलाई व्यवस्थित, प्रभावकारी र दीर्घकालीन बनाउन संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको निष्कर्ष समेत निकालेको छ।