बागमतीको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
हेटौंडा । बागमती प्रदेश सरकारको मुख्यमन्त्रीमा नेकपा एमालेका किरण थापा नियुक्त भएका छन्। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेताहरूको समर्थनमा थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।
प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए।
सोहीअनुसार थापाले एमाले, नेकपा र राप्रपासहित तीन दलका ६३ जना प्रदेशसभा सदस्यको समर्थनमा बुधबार मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए। प्रदेश प्रमुखले संविधानको धारा १६८(२) अनुसार उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।
नयाँ सरकार गठनमा राप्रपाको समर्थनलाई लिएर भने पार्टीभित्र विवाद उत्पन्न भएको छ। राप्रपा संसदीय दलका नेता उद्धव थापालाई पार्टीले कारबाही गर्दै साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ।
पार्टीको केन्द्रीय निर्देशनबिना प्रदेश संसदीय दलबाट सरकारलाई समर्थन गर्ने निर्णय गरिएको भन्दै राप्रपाको केन्द्रीय नेतृत्वले असहमति जनाएको थियो। राप्रपा केन्द्रले प्रदेशमा कुनै पनि दललाई सरकार गठनका लागि समर्थन गर्ने निर्णय नभएको स्पष्ट पार्दै बुधबार नै प्रदेश प्रमुख देवकोटालाई पत्रसमेत पठाएको थियो।
यद्यपि, प्रदेश प्रमुखको कार्यालयले तीन दलको समर्थनसहित पेस भएको दाबीका आधारमा मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढाएको हो।
किरण थापा बागमती प्रदेशको सातौं मुख्यमन्त्री बनेका छन्। बागमती प्रदेशसभाको पहिलो कार्यकालमा २०७४ मा नेकपा एमालेका डोरमणि पौडेल मुख्यमन्त्री बनेका थिए। त्यसपछि २०७८ मा एमालेकै अष्टलक्ष्मी शाक्य र सोही वर्ष तत्कालीन नेकपा (एकीकृत समाजवादी)का राजेन्द्रप्रसाद पाण्डे मुख्यमन्त्री बने।
दोस्रो कार्यकालमा २०७९ मा तत्कालीन नेकपा माओवादी केन्द्रका शालिकराम जम्कट्टेल, २०८१ मा नेपाली कांग्रेसका बहादुरसिंह लामा र २०८२ मा कांग्रेसकै इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बनेका थिए।
