इतर समूहको राष्ट्रिय भेलाअघि कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ। पार्टीको केन्द्रीय समिति बैठक साउन २४ गते आइतबार दिउँसो १ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने तय भएको हो।
कावा मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू सहभागी हुनेछन्।
यो बैठक पार्टीभित्र देखिएको आन्तरिक विवादका बीच बोलाइएको हो। सभापति गगन थापासहित पार्टी नेतृत्वबाट एकताको पहल प्रभावकारी रूपमा नभएको भन्दै पूर्वसभापति शेरबहादुर देउवा पक्षले साउन २९ गते काठमाडौंमा ‘राष्ट्रिय भेला’ आयोजना गर्ने घोषणा गरिसकेको छ।
उक्त भेलाको तयारीका लागि इतर समूहले पूर्वमहामन्त्री डा. शशांक कोइरालाको नेतृत्वमा ५५१ सदस्यीय आयोजक समिति गठन गरेको छ। साथै भेला सफल बनाउन १६ वटा विभिन्न तयारी समिति समेत गठन गरिएको छ। ती समितिमा राजनीतिक, समसामयिक राजनीतिक, सांगठनिक, विधान मस्यौदालगायतका विषय समेटिएका छन्।
इतर समूहले राष्ट्रिय भेलाको तयारी तीव्र बनाइरहेका बेला बोलाइएको केन्द्रीय कार्यसमिति बैठकलाई पार्टीको आन्तरिक राजनीति र सम्भावित एकता प्रयासका दृष्टिले अर्थपूर्ण रूपमा हेरिएको छ।
