पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० पर्वतारोही सम्पर्कविहीन, उद्धार अभियान तीव्र

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा रहेको ८,०४७ मिटर अग्लो ब्रोड पिकमा गएको हिमपहिरोपछि विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जासहित १० जना पर्वतारोही सम्पर्कविहीन भएका छन्। उनीहरू बिहीबारदेखि बेपत्ता भएको आशंका गरिएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार पुर्जाको नेतृत्वमा रहेको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोहण टोली हिमपहिरोमा परेपछि सम्पर्कविहीन भएको हो। टोलीमा पाँच नेपालीसहित एक अमेरिकी, एक चिनियाँ, एक ओमानी र अन्य विदेशी पर्वतारोही सहभागी रहेको बताइएको छ।

पाकिस्तानी पर्वतारोहण अधिकारीहरूका अनुसार बिहीबार दिउँसो ब्रोड पिक क्षेत्रमा ठूलो हिमपहिरो गएको थियो। त्यसयता टोलीसँग कुनै सम्पर्क स्थापित हुन नसकेपछि खोज तथा उद्धार अभियान सुरु गरिएको छ।

सम्पर्कविहीन आरोहीहरूको खोजीका लागि पाकिस्तानी सेनाले दुईवटा हेलिकप्टर परिचालन गरेको छ। अल्पाइन क्लब अफ पाकिस्तानका अनुसार उद्धार टोलीलाई विशेष उपकरणसहित घटनास्थलमा पठाइएको छ र प्रतिकूल मौसम तथा दुर्गम भौगोलिक अवस्थाबीच खोजी कार्यलाई तीव्र बनाइएको छ।

क्लबले उद्धार अभियानमा संलग्न पाकिस्तानी सेना, उड्डयन इकाइ तथा सम्बन्धित निकायको तत्काल सक्रियताप्रति आभार व्यक्त गर्दै सम्पर्कविहीन सबै पर्वतारोही सुरक्षित भेटिने विश्वास व्यक्त गरेको छ। साथै, घटनाबारे थप जानकारी प्राप्त हुनेबित्तिकै सार्वजनिक गरिने जनाएको छ।

विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिक कठिन र जोखिमपूर्ण आरोहण मार्गका कारण पर्वतारोहीका लागि चुनौतीपूर्ण मानिन्छ।

निर्मल पुर्जा विश्व पर्वतारोहण क्षेत्रमा चर्चित नाम हुन्। उनले सन् २०१९ मा केवल ६ महिनाभित्र विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल सफलतापूर्वक आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए। बेलायती सेनाको ‘रोयल मरीन’का पूर्व सदस्य पुर्जाले सन् २०१२ देखि व्यावसायिक पर्वतारोहण यात्रा सुरु गरेका थिए।

सम्पर्कविहीन पर्वतारोहीहरू यसप्रकार छन्ः

नधिरा अहमद अब्दुल्लाह अल हार्थी — ओमान
सोहेल साखी — पाकिस्तान
वाङ जोङ — चीन
मालोरी गाइस — अमेरिका
निर्मल पुर्जा ‘निम्स दाई’ — नेपाल
पुरबहादुर गुरुङ ‘युक्‍ता’ — नेपाल
किली पेम्बा शेर्पा ‘किलु’ — नेपाल
निमा शेर्पा — नेपाल
नवाङ थिन्डु शेर्पा — नेपाल
ग्यालु शेर्पा — नेपाल