सिरहा झडपमा गोली लागेका १५ वर्षीय किशोरको मृत्यु
सिरहा। सिरहामा भएको झडपका क्रममा गोली लागेर गम्भीर घाइते भएका एक किशोरको मृत्यु भएको छ।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सीडीओ) चेतराज बरालका अनुसार औरही गाउँपालिका–२ का करिब १५ वर्षीय गणेश यादवको उपचारका क्रममा मृत्यु भएको हो।
सहायक सीडीओ बरालले गणेश यादवको मृत्यु भएको जानकारी प्राप्त भएको पुष्टि गर्दै घटनाबारे थप विवरण आउन बाँकी रहेको बताए।
घटनापछि सम्भावित अप्रिय अवस्था नियन्त्रणमा लिन प्रभावित क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको प्रशासनले जनाएको छ। यसअघि नै सिरहाका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ।
