भारतीय विदेश मन्त्रालयले भन्यो : ‘प्रधानमन्त्री बालेन्द्र शाहलाई भ्रमणको निम्तो पठाइसकिएको छ’
काठमाडौं । भारतले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणका लागि औपचारिक निमन्त्रणा पठाइसकेको जनाएको छ ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नियमित पत्रकार सम्मेलनका क्रममा प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तो दिइसकिएको जानकारी दिएका हुन्। यद्यपि भ्रमणको मिति वा निमन्त्रणा कहिले पठाइएको हो भन्नेबारे उनले कुनै विवरण खुलाएनन्।
पत्रकार सम्मेलनमा हालै नेपाली अधिकारीहरूको भारत भ्रमण प्रधानमन्त्री शाहको सम्भावित भ्रमणको तयारीसँग सम्बन्धित हो कि भन्ने प्रश्न गरिएको थियो। त्यसको जवाफमा प्रवक्ता जैसवालले पहिलो प्रश्नबारे आफू जानकार नरहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहको भारत भ्रमणका लागि निमन्त्रणा भने पठाइसकिएको बताए।
उनले भने, “पहिलो प्रश्नको बारेमा म जानकार छैन। नेपालका प्रधानमन्त्रीको भ्रमणका लागि निमन्त्रणा गइसकेको छ।”
भारतको यो अभिव्यक्तिसँगै प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमणबारे चासो बढेको छ। यद्यपि भ्रमणको मिति, कार्यसूची तथा अन्य औपचारिक विवरण भने सार्वजनिक गरिएको छैन।
