संख्या पुगेका प्रदेशमा सरकार गठनको पहल गर्ने कांग्रेस, सातै प्रदेशका नेतासँग रणनीतिक छलफल

काठमाडौं । नेपाली कांग्रेसले नेकपा एमाले र नेकपाबीच प्रदेश सरकारमा बनेको नयाँ सत्ता समीकरणपछि उत्पन्न राजनीतिक परिस्थितिबारे सातै प्रदेशका नेतासँग रणनीतिक छलफल गरेको छ।

आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सभापति गगनकुमार थापाको उपस्थितिमा सातै प्रदेशका सभापति, प्रदेश संसदीय दलका नेता तथा कांग्रेसबाट निर्वाचित मुख्यमन्त्रीहरूसँग परामर्श गरिएको हो।

बैठकमा प्रदेश सरकारको वर्तमान अवस्था, संघीय लोकतान्त्रिक व्यवस्थाको संरक्षण तथा प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य दलहरूसँग आवश्यकताअनुसार सहकार्य गर्ने विषयमा छलफल भएको बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले जानकारी दिए।

उनका अनुसार प्रत्येक प्रदेशको राजनीतिक अंकगणितका आधारमा सरकार गठनको प्रयास गर्ने वा प्रतिपक्षमा बस्ने भन्ने निर्णय गरिनेछ। संख्या पुग्ने प्रदेशमा सरकार गठनका लागि पहल गर्ने र अन्य स्थानमा परिस्थितिअनुसार रणनीति तय गर्ने विषयमा छलफल केन्द्रित रहेको उनले बताए।

मुख्यमन्त्री बानियाँले लोकतन्त्र र संघीयतालाई स्वीकार गर्दै निर्वाचनमार्फत प्रदेशसभामा प्रतिनिधित्व गरेका दलहरूसँग संवाद र सहकार्यको सम्भावनाबारे पनि बैठकमा विचारविमर्श भएको जानकारी दिए।

उनले भने, “प्रदेशअनुसार दलहरूको संख्या र राजनीतिक अवस्था फरक भएकाले सरकार गठन वा प्रतिपक्षमा बस्ने विषय त्यहीअनुसार तय हुनेछ।”

एमाले र नेकपाबीच प्रदेश सरकारमा सत्ता सहकार्यको सहमतिपछि विकसित नयाँ राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै कांग्रेसले प्रदेशस्तरको आगामी रणनीति तय गर्न उक्त परामर्श गरेको हो।

विशेषगरी बागमती, मधेश र गण्डकी प्रदेशमा एमाले र नेकपाको मात्र स्पष्ट बहुमत नपुग्ने अवस्थालाई मध्यनजर गर्दै कांग्रेसले अन्य दलहरूसँग पनि सम्भावित सहकार्यबारे संवाद अघि बढाएको जनाएको छ।