लघुवित्त ऋण खारेज र ब्याज मिनाहाको माग गर्दै काठमाडौंमा प्रदर्शन
काठमाडौं । लघुवित्तबाट लिएको ऋण खारेज गर्नुपर्ने मागसहित लघुवित्त पीडितहरूले काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका छन्। देशका विभिन्न जिल्लाबाट राजधानी आएका उनीहरूले आफ्ना माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन्।
आन्दोलनकारीहरूले लघुवित्तको कर्जा खारेज, ब्याज तथा जरिबाना मिनाहा र पीडित परिवारलाई राहत उपलब्ध गराउनुपर्ने माग राखेका छन्।
माइतीघर मण्डलालगायत विभिन्न क्षेत्रमा प्रदर्शन गर्दै उनीहरूले सरकारको ध्यानाकर्षण गराएका हुन्। प्रदर्शनकारीले लघुवित्त संस्थाहरूले चर्को ब्याजदरमा ऋण प्रवाह गरेको, असुलीका नाममा दबाब दिएको तथा त्यसका कारण हजारौं परिवार आर्थिक संकटमा परेको दाबी गरेका छन्।
उनीहरूले लघुवित्तका कर्मचारीबाट आफूहरूलाई विभिन्न किसिमका दुःख र दबाब दिइएको गुनासोसमेत गरेका छन्।
पीडितहरूले सरकारले पटक–पटक वार्ताको आश्वासन दिए पनि माग सम्बोधन नभएको भन्दै माग पूरा नभएसम्म आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएका छन्।
आन्दोलनका क्रममा माइतीघर क्षेत्र आसपास केही समय प्रदर्शन र नाराबाजी भएको थियो।
