बाढीपहिरोले देशका प्रमुख राजमार्ग प्रभावित, पाँच सडकखण्ड पूर्ण रूपमा अवरुद्ध
काठमाडौं । अविरल वर्षापछि आएको बाढीपहिरोका कारण देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित भएको छ। केही सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही स्थानमा एकतर्फी सञ्चालन भइरहेको छ।
प्रहरीका अनुसार आइतबार बिहान साढे ६ बजेसम्मको विवरणअनुसार मेची राजमार्गअन्तर्गत झापा–ताप्लेजुङ सडकखण्ड, बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेसी खण्ड, कान्तिलोकपथको हेटौंडा–ठिंगन–बागमती–ललितपुर सडक, अरनिको राजमार्गअन्तर्गत तातोपानी जाने सडक तथा कोदारी क्षेत्रको सडक पूर्ण रूपमा अवरुद्ध भएका छन्।
यस्तै, मध्यपहाडी राजमार्गअन्तर्गत भोजपुरको बोखिम र खोटाङको साखा क्षेत्रमा सडक एकतर्फी रूपमा सञ्चालन भइरहेको नेपाल प्रहरीले जनाएको छ।
प्रहरीले प्रभावित सडकखण्डमा यात्रा गर्दा आवश्यक सावधानी अपनाउन तथा यात्रा अघि सम्बन्धित निकायबाट सडकको अवस्थाबारे जानकारी लिन सर्वसाधारणलाई आग्रह गरेको छ।
