सत्ताका लागि तीन दलको गठबन्धन आवश्यक छैन, प्रतिपक्षमा बस्न पनि तयार छौँ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सत्ताका लागि तीन दल मिलेर सरकार बनाउने पक्षमा कांग्रेस नरहेको स्पष्ट पार्दै आवश्यक परे प्रदेशमा प्रतिपक्षमा बस्न पनि तयार रहेको बताएका छन्।

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा उनले कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्न नहुने कांग्रेसको स्पष्ट धारणा रहेको बताए।

प्रदेश सरकारको समीकरणबारे दलहरूबीच संवाद जारी रहेको उल्लेख गर्दै शर्माले पार्टीको ‘बटमलाइन’ नै प्रतिपक्षविहीन प्रदेशसभा हुन नदिनु रहेको बताए।

उनले संविधानको मूल मर्म जोगाउन प्रतिपक्षको भूमिका अपरिहार्य रहेको उल्लेख गर्दै नागरिकको जनादेशभन्दा बाहिर गएर सबै दल एउटै सरकारमा बस्ने अभ्यास उचित नहुने धारणा राखे।

‘कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन। संविधान निर्माणमा भूमिका खेलेका दलहरूले संविधान संशोधनको बहस चलिरहेका बेला त्यसको मूल मर्म कमजोर बनाउने काम गर्नु हुँदैन,’ उनले भने, ‘आवश्यक परे कांग्रेस प्रतिपक्षमा बस्न तयार छ, तर सत्ताका लागि सबै दल एउटै सरकारमा बस्नुपर्छ भन्ने मान्यता हाम्रो होइन।’

यसैबीच, शर्माले जननेता बीपी कोइरालाको ४४औँ स्मृति दिवस साउन ६ गते देशभर विभिन्न कार्यक्रम गरी मनाइने जानकारी दिए।

उनका अनुसार काठमाडौंमा ‘जलवायु जनचेतना जोगाउन जुटौँ’ भन्ने मूल नारासहित केन्द्रीय कार्यक्रम आयोजना गरिनेछ भने साउन ७ गते पनि सोही विषयसँग सम्बन्धित कार्यक्रम सञ्चालन हुनेछ।

बीपी कोइरालाको स्मृति दिवसलाई जलवायु सचेतनासँग जोड्नुको कारण स्पष्ट पार्दै शर्माले बीपी कोइराला प्रधानमन्त्री रहेका बेला जंगल राष्ट्रियकरण गर्ने ऐतिहासिक निर्णय भएकै कारण आज वन संरक्षण सम्भव भएको बताए।