सञ्चारगृह र निजी घरमा गाडी तेर्स्याएर अवरोध गर्नु गलत : मनिष झा

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा सांसद मनिष झाले सञ्चारगृह, निजी घर तथा सार्वजनिक स्थानमा गाडी राखेर आवतजावत अवरुद्ध गर्ने कार्यको विरोध गरेका छन्।

सोमबार कान्तिपुर टेलिभिजन, अनलाइनखबर, हिमालयन टेलिभिजन, नेपाली कांग्रेसका सभापति गगन थापाको घरको गेट तथा अनामनगरस्थित भाटभटेनी अगाडि सडकमा गाडी राखेर अवरोध गरिएको घटनाप्रति प्रतिक्रिया जनाउँदै उनले यस्तो कार्य गलत भएको बताएका हुन्।

बुधबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै सांसद झाले घटनामा संलग्न जो–कोहीमाथि अनुसन्धान गरी कानुनी कारबाही हुनुपर्ने माग गरेका छन्।

उनले राज्यको दायित्व नागरिकको चिन्ता र समस्या समाधान गर्नु रहेको उल्लेख गर्दै राज्य आफैंले नागरिकलाई थप त्रसित बनाउने काम गर्न नहुने बताएका छन्।

झाले सामाजिक सञ्जालमा लेखेका छन्, “सञ्चार गृह र अन्य स्थानमा गाडी राखेर अवरोध गर्ने काम गलत हो। यसमा जो संलग्न छ, अनुसन्धान र कारबाही हुनुपर्छ। राज्यले नागरिकको चिन्ता निराकरण गर्ने हो। राज्यले आफैं थप आतङ्कित बनाउने होइन।”

उनले यस्ता गतिविधिलाई “बचपना”को संज्ञा दिँदै यसरी राज्य सञ्चालन हुन नसक्ने टिप्पणी गरेका छन्। साथै उनले “के यस्तै स्तरहीन र गलत प्रयोग गर्न GenZ सहादत भएको हो?” भन्दै घटनाप्रति घोर आपत्ति पनि जनाएका छन्।