सभामुख निष्पक्ष बन्नुपर्ने कांग्रेसको आग्रह, ‘विपक्षीको नाडी छाम्ने काम नगर्नुस्’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद अर्यालको भूमिका निष्पक्ष र समन्वयकारी हुनुपर्नेमा जोड दिएका छन्। उनले सभामुखले विपक्षी दलहरूको ‘नाडी छाम्ने’ प्रयास नगर्न पनि आग्रह गरेका छन्।

सोमबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै आङ्देम्बेले सभामुख कुनै पनि राजनीतिक दलको प्रतिनिधि नभएकाले संसद् सञ्चालनमा निष्पक्ष भूमिका निर्वाह गर्नुपर्ने बताए।

उनले संसद्मा विरोधका विषय उठेपछि सबै विपक्षी दललाई आफ्नो धारणा राख्ने अवसर उपलब्ध गराइनुपर्ने उल्लेख गर्दै संसद् सञ्चालन गर्ने व्यक्तिले आफ्नो संवैधानिक जिम्मेवारी र भूमिकालाई स्पष्ट रूपमा बुझ्नुपर्ने धारणा राखे।

आङ्देम्बेले प्रतिपक्षले सत्तापक्षबाट बारम्बार विवादित अभिव्यक्ति आए पनि संसद्को दैनिक कार्यसूची सञ्चालनमा सहयोग गर्दै आएको उल्लेख गरे। उनले त्यसलाई प्रतिपक्षको कमजोरीका रूपमा नभई मुलुकको हितलाई केन्द्रमा राखेर गरिएको जिम्मेवार व्यवहारका रूपमा बुझ्न आग्रह गरे।

उनका अनुसार संसद्को प्रभावकारी सञ्चालनका लागि सत्ता र प्रतिपक्षबीच आवश्यक समन्वय हुनुपर्छ। सत्तापक्षले प्रतिपक्षसँग पर्याप्त संवाद र समन्वय नगर्दा सदनमा अनावश्यक समस्या सिर्जना हुने गरेको उनको भनाइ थियो।