गणेश नेपालीको आत्मदाह प्रकरणको निष्पक्ष छानबिन गर्न कांग्रेस नेता आङदेम्बेको माग
काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले राइड–सेयरिङ चालक गणेश नेपालीले आत्मदाह गरेको घटनाको निष्पक्ष र गम्भीर छानबिन गर्न सरकारसँग माग गरेका छन्।
शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै आङदेम्बेले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै राज्यका निकायबाट हुने दुर्व्यवहार र प्रताडनाका कारण नागरिक आत्मदाहजस्तो चरम कदम चाल्न बाध्य हुने अवस्था सिर्जना हुनु गम्भीर चिन्ताको विषय भएको बताए।
उनले गणेश नेपालीका परिवारले महानगर प्रहरीको व्यवहारका कारण उनी मानसिक तनावमा रहेको बताएको उल्लेख गर्दै घटनाको सत्यतथ्य बाहिर ल्याउनुपर्ने आवश्यकता औँल्याए।
‘महानगर प्रहरीले गर्ने प्रताडनाका कारण गणेश पीडामा रहेको र त्यसकै कारण डिप्रेसनमा पुगेको परिवारको भनाइ आएको छ। घटनाबारे अनुसन्धान भइरहेको होला र सत्यतथ्य बाहिर आउला,’ उनले भने, ‘तर राज्य वा राज्यका कुनै पनि निकायले आफूलाई शक्तिशाली देखाउने नाममा श्रम गरेर जीविकोपार्जन गर्ने मजदुर वर्गमाथि दुर्व्यवहार गर्नु उचित होइन। राज्य सधैं काम गरेर खाने नागरिकको पक्षमा उभिनुपर्छ।’
आङदेम्बेले गणेश नेपाली आत्मदाह गर्न बाध्य हुने अवस्था किन सिर्जना भयो भन्ने विषयमा सरकारले गम्भीर अनुसन्धान गर्नुपर्ने बताए। उपचारका क्रममा गणेशले आफूलाई प्रताडित गरिएको कुरा परिवारलाई सुनाएको उल्लेख गर्दै उनले त्यसको निष्पक्ष छानबिन गरी सत्य बाहिर ल्याउन आग्रह गरे।
राइड–सेयरिङ चालकहरू स्वरोजगार श्रमिक भएको उल्लेख गर्दै आङदेम्बेले उनीहरूमाथि राज्य पक्षबाट हुने दुर्व्यवहारको भर्त्सना गरे। उनले दुई छाक टार्न मेहनत गर्ने श्रमिकलाई सामान्य पार्किङको विषयमा अपमानजनक व्यवहार गर्नु स्वीकार्य नहुने धारणा राखे।
उनले गणेश नेपालीको मृत्यु प्रकरणको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न तथा राइड–सेयरिङ चालकमाथि हुने दुर्व्यवहार रोक्न प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराए।
