प्रधानमन्त्री बालेन र एडीबी अध्यक्ष कान्दाबीच भेट, विकास सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्दाबीच नेपालको विकास साझेदारी तथा एडीबीको सहयोगका विषयमा भेटवार्ता भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपालका विकास प्राथमिकता, पूर्वाधार निर्माण, आर्थिक सहयोग तथा आगामी सहकार्यका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
जेनजी आन्दोलनपछि शाह प्रधानमन्त्री नियुक्त भएपछि एडीबी अध्यक्ष कान्दाले सामाजिक सञ्जाल ‘एक्स’मार्फत नेपालको विकास प्राथमिकतामा एडीबीको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेका थिए।
कान्दाको नेपाल भ्रमणकै क्रममा एडीबी र नेपाल सरकारबीच १६ करोड ५० लाख अमेरिकी डलर (करिब २५ अर्ब रुपैयाँ) बराबरको सहुलीयतपूर्ण ऋण सम्झौता पनि भएको छ। उक्त रकम दुई विकास आयोजनामा लगानी गरिनेछ।
सोमबार सम्पन्न सम्झौतामा अर्थसचिव डा. घनश्याम उपाध्याय र एडीबीका नेपालस्थित आवासीय नियोगका देशीय निर्देशक आनो कुश्वाले हस्ताक्षर गरेका थिए। सम्झौताको अवसरमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र एडीबी अध्यक्ष मासातो कान्दा पनि उपस्थित थिए।
