प्रधानमन्त्रीलाई सांसदहरूको तीखा प्रश्न -‘कर्णालीबासीले स्वर्ग देख्न मरेरै जानुपर्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा कर्णालीको सडक अवस्था, बढ्दो सवारी दुर्घटना र उद्धार कार्यको सुस्ततामाथि सरकारको चर्को आलोचना भएको छ। नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापा र नेकपा (एमाले) की सांसद यशोदाकुमारी बरालले कर्णालीका नागरिकको सुरक्षाप्रति सरकार गम्भीर नभएको भन्दै प्रधानमन्त्रीसँग जवाफ मागेका छन्।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै प्रमुख सचेतक थापाले कर्णालीका सडकहरू ‘मृत्युमार्ग’मा परिणत भएको बताइन्। दैलेखस्थित कर्णाली नदीमा फोर्स गाडी दुर्घटना भएको लामो समय बितिसक्दा पनि घटनाको आधिकारिक विवरण सार्वजनिक हुन नसकेको भन्दै उनले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरिन्।

उनले कर्णालीका नागरिकहरू दिनहुँ ज्यान जोखिममा राखेर यात्रा गर्न बाध्य रहेको उल्लेख गर्दै नियमन, उद्धार र पूर्वाधार व्यवस्थापनमा राज्य पूर्ण रूपमा असफल भएको आरोप लगाइन्।

प्रधानमन्त्रीले कर्णालीलाई ‘स्वर्गकी रानी’ र ‘सुइना’ भनेर सम्बोधन गरे पनि व्यवहारमा त्यहाँका नागरिकले अकालमै ज्यान गुमाइरहेको उनको भनाइ थियो।

‘के कर्णालीवासीले स्वर्ग देख्न मरेरै जानुपर्ने हो? के कर्णालीका जनताको निधारमा सधैं अकाल मृत्यु मात्रै लेखिएको छ?’ भन्दै थापाले सरकारसँग प्रश्न गरिन्।

उनले कर्णालीमा भइरहेका दुर्घटनालाई सामान्य घटना नभई राज्यको लापरवाही र बेवास्ताको परिणाम भएको बताउँदै तत्काल उद्धार कार्यलाई तीव्र बनाउन र कर्णाली राजमार्गको स्तरोन्नतिका लागि ठोस योजना अघि सार्न सरकारसँग माग गरिन्।

यस्तै, नेकपा (एमाले) की सांसद यशोदाकुमारी बरालले पनि कर्णाली राजमार्गको जीर्ण अवस्था र उद्धार कार्यको प्रभावहीनताप्रति सरकारको ध्यानाकर्षण गराइन्।

दुर्घटनाको ७२ घण्टा बितिसक्दा पनि बेपत्ता यात्रुको अवस्था अज्ञात रहेको उल्लेख गर्दै उनले प्रभावकारी खोज तथा उद्धार हुन नसकेको गुनासो गरिन्।

‘अहिलेसम्म न सास भेटिएको छ, न लास। कर्णालीका जनता सधैं राज्यको बलि चढ्नुपर्ने अवस्था कहिलेसम्म रहन्छ? राज्यले कर्णालीका जनतालाई नागरिकका रूपमा कहिले स्वीकार गर्छ?’ उनले प्रश्न गरिन्।

बरालले प्रधानमन्त्रीका विगतका प्रतिबद्धता स्मरण गराउँदै प्रचार र वास्तविकताबीच ठूलो अन्तर रहेको टिप्पणी गरिन्।

‘प्रधानमन्त्रीज्यूले “मेरा सुइना, कर्णालीका सुइना” भन्दै फोटोमा रमाइरहँदा त्यहाँका जनताले दैनिक मृत्युसँग जुध्नुपरेको छ। हामी सरकारसँग अधिकार माग्न आएका हौँ, भिख होइन,’ उनले भनिन्।

सांसद बरालले कर्णाली राजमार्गलाई सुरक्षित र भरपर्दो बनाउने दीर्घकालीन योजना तत्काल कार्यान्वयन गर्न, खोज तथा उद्धारका लागि पर्याप्त जनशक्ति र आधुनिक उपकरण परिचालन गर्न तथा कर्णालीका नागरिकलाई सुरक्षित यात्रा गर्ने वातावरण सुनिश्चित गर्न सरकारसँग माग गरिन्।