कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेलाको तयारी तीव्र
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्ष १५ महाधिवेशनको तयारीमा जुटिरहेको छ भने संस्थापनइतर समूहले राष्ट्रिय भेलाको तयारीलाई तीव्र बनाएको छ। सोही तयारीअन्तर्गत समूहले आज (सोमबार) १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र केन्द्रीय सदस्यहरूको बैठक बोलाएको छ।
बैठक काठमाडौंको चुनदेवीस्थित नवस्थापित सम्पर्क कार्यालयमा दिउँसो १ बजे बस्नेछ। निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सचिवालयका अनुसार बैठकमा खड्का पक्षका काठमाडौंमा उपलब्ध पूर्वपदाधिकारी तथा पूर्वकेन्द्रीय सदस्यहरू सहभागी हुनेछन्।
गत शुक्रबार खड्काको गल्फुटारस्थित निवासमा बसेको शीर्ष नेताहरूको छलफलले सम्पर्क कार्यालय सञ्चालनमा ल्याउने र त्यसैबाट आगामी राजनीतिक गतिविधि अघि बढाउने निर्णय गरेको थियो। त्यसअनुसार आजदेखि चुनदेवीस्थित कार्यालय औपचारिक रूपमा सञ्चालनमा आउनेछ।
नेता मीन विश्वकर्माका अनुसार सम्पर्क कार्यालयबाट १५औँ महाधिवेशनको तयारी, संगठन विस्तार, आन्तरिक छलफल तथा बैठकहरू सञ्चालन गरिनेछ। उनका अनुसार प्रदेशस्तरका सातै वटा भेला सम्पन्न भइसकेका छन् भने अब राष्ट्रिय भेला आयोजना गर्ने तयारी अन्तिम चरणमा पुगेको छ।
विश्वकर्माले गत निर्वाचनमा कांग्रेसले भोगेको अप्रत्याशित पराजय, त्यसको समीक्षा र पार्टीभित्रको एकतालाई प्रदेश भेलाहरूको मुख्य एजेन्डा बनाइएको बताए। ती भेलाबाट प्राप्त सुझाव र निष्कर्षलाई आधार बनाएर राष्ट्रिय भेला आयोजना गर्न लागिएको उनले उल्लेख गरे।
उनका अनुसार आजको बैठकले राष्ट्रिय भेलाको मिति तय गर्नेछ। असार २२ गतेभित्रै वा त्यस आसपास राष्ट्रिय भेला आयोजना गर्ने तयारी रहेको नेताहरूले बताएका छन्।
