ब्राजिलको विश्वकप २०२६ को यात्रा टुंगिएसँगै नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा
काठमाडौं । ब्राजिलका स्टार फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन्। फिफा विश्वकप २०२६ को अन्तिम १६ मा नर्वेसँग २–१ को हार बेहोरेसँगै उनले ब्राजिलको राष्ट्रिय टोलीसँगको १६ वर्ष लामो यात्रा समाप्त भएको घोषणा गरेका हुन्।
अमेरिकाको न्युयोर्क–न्यु जर्सी रंगशालामा भएको खेलपछि भावुक बनेका ३४ वर्षीय नेयमारले आफ्नो अन्तर्राष्ट्रिय करियर यहीँ टुंगिएको बताए। उनले भने, ूमैले धेरै प्रयास गरें। मेरो यात्रा यही रंगशालाबाट सुरु भएको थियो र आज यहीँ अन्त्य भयो। अब सबै सकियो।ू
उक्त खेलमा नर्वेका स्टार स्ट्राइकर एर्लिङ हालान्डले दुई गोल गर्दै आफ्नो टोलीलाई इतिहासमै पहिलो पटक विश्वकपको क्वाटरफाइनलमा पुर्याए। ब्राजिलका लागि नेयमारले इन्जुरी समयमा पेनाल्टीमार्फत एक गोल फर्काए पनि त्यो हार टार्न पर्याप्त भएन।
चोटबाट लामो समयपछि मैदानमा फर्किएका नेयमारले यस विश्वकपमा आफ्नो उत्कृष्ट लय समात्न सकेनन्। चोटका कारण उनले ब्राजिलका सुरुआती खेल गुमाएका थिए भने त्यसपछि टोलीमा फर्किए पनि अधिकांश खेलमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका थिए। स्कटल्यान्ड र नर्वेविरुद्ध पनि उनी बेन्चबाट मैदानमा आएका थिए।
नर्वेविरुद्ध इन्जुरी समयमा गरेको पेनाल्टी गोल नै ब्राजिलका लागि नेयमारको अन्तिम अन्तर्राष्ट्रिय गोल बनेको छ।
नेयमारले सन् २०१० मा ब्राजिलको सिनियर टोलीबाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका थिए। १६ वर्षको करियरमा उनले १२९ अन्तर्राष्ट्रिय खेल खेल्दै ८० गोल गरेका छन्, जुन ब्राजिलको पुरुष राष्ट्रिय टोलीका लागि सर्वाधिक गोलको कीर्तिमान हो।
उनले चार संस्करणको फिफा विश्वकप खेले पनि ब्राजिललाई विश्वकप उपाधि दिलाउने सपना भने पूरा गर्न सकेनन्।
नेयमारले आफ्नो पहिलो विश्वकप खेल पनि न्युजर्सीकै रंगशालामा खेलेका थिए। त्यसपछि सोही मैदानबाट अन्तर्राष्ट्रिय करियरको अन्त्य गर्नु उनका लागि भावुक क्षण बनेको छ।
विश्वकपबाहेक उनले दुई ओलम्पिकमा पनि ब्राजिलको प्रतिनिधित्व गरेका थिए। सन् २०१२ मा रजत पदक जितेका नेयमारले सन् २०१६ मा कप्तानी गर्दै ब्राजिललाई पहिलो पटक ओलम्पिक फुटबलको स्वर्ण पदक दिलाएका थिए।
