दाउन्ने सडक निर्माण अन्तिम चरणमा, ढलान गरिएको सडक ३० देखि ४० वर्ष टिक्ने दाबी

काठमाडौँ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्ने खण्डको सडक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। दाउन्नेको भौगोलिक अवस्था र उच्च सवारी चापलाई ध्यानमा राख्दै कालोपत्रेको सट्टा गुणस्तरीय कङ्क्रिट ढलान गरिएको सडकको आयु कम्तीमा ३० वर्ष रहने आयोजनाले जनाएको छ।

सडक विभागको आयोजना निर्देशनालय (एडीबी) का आयोजना निर्देशक चुडाराज ढकालका अनुसार भार नियन्त्रणलगायत डिजाइनका सबै मापदण्ड पालना भएमा सडक ३० देखि ४० वर्षसम्म टिक्नेछ। यसले दाउन्ने क्षेत्रमा वर्षौंदेखि नागरिकले भोग्दै आएको सास्तीको दीर्घकालीन समाधान हुने विश्वास गरिएको छ।

‘हामीले ३० वर्षको आयु सुनिश्चित हुने गरी ढलान गरेका छौँ। भार नियन्त्रण र अन्य डिजाइन मापदण्ड पालना भएमा यो सडक ३० देखि ४० वर्षसम्म टिक्न सक्छ,’ आयोजना निर्देशक ढकालले भने।

उनका अनुसार दैनिक १२ हजारदेखि २० हजारसम्म सवारी साधन सञ्चालन भए पनि सडकको संरचनामा असर नपर्ने गरी निर्माण गरिएको छ। आगामी तीन दशकसम्मको सवारी चापको अनुमानलाई आधार मानेर सडकको डिजाइन तयार गरिएको उनले बताए।

आयोजनाका अनुसार सडकको भारवहन क्षमता एकल चक्कामा १० टन रहेको छ। आगामी २० देखि ३० वर्षसम्म दैनिक २० हजारसम्म सवारी साधन सञ्चालन भए पनि सडकमा क्षति नपुग्ने गरी निर्माण गरिएको दाबी गरिएको छ।

हाल दाउन्ने मन्दिरमुनिको पहिरो प्रभावित क्षेत्रमा करिब ५० मिटर एकतर्फी ढलान गर्न मात्र बाँकी रहेको छ। सडकको एकातर्फको निर्माण कार्य भने पूरा भई सवारी आवागमन सुचारु भइसकेको आयोजना निर्देशक ढकालले जानकारी दिए।

कालोपत्रे सडक छिट्टै बिग्रने र पटक–पटक मर्मत गर्दा सर्वसाधारणले निरन्तर सास्ती भोग्नुपर्ने अवस्थालाई ध्यानमा राख्दै कङ्क्रिट ढलानको विकल्प रोजिएको आयोजनाले जनाएको छ। यससँगै दाउन्ने खण्डमा बर्सेनि हुने सडक अवरोध र पहिरोबाट सिर्जित समस्या दीर्घकालीन रूपमा समाधान हुने सरकारको अपेक्षा रहेको छ।