संविधानसभा सदस्य अञ्जना ताम्लीसहित १९ जनाले छाडे कांग्रेस, वैचारिक मतभेदलाई देखाए कारण

धनकुटा । पूर्व संविधानसभा सदस्य अञ्जना ताम्लीसहित १९ जना नेता तथा कार्यकर्ताले नेपाली कांग्रेस परित्याग गरेका छन्। उनीहरूले साधारण सदस्यसमेत नरहने गरी पार्टीसँगको राजनीतिक सम्बन्ध अन्त्य गरेको घोषणा गरेका हुन्।

दोस्रो संविधानसभामा नेपाली कांग्रेसबाट समानुपातिक सदस्य रहेकी तथा कांग्रेस महासमिति सदस्य अञ्जना ताम्ली र कांग्रेस कोशी प्रदेश सदस्य मिना राईले पार्टी केन्द्रीय समितिलाई पत्र लेख्दै पार्टीभित्र बसेर काम गर्ने वातावरण नरहेको र पछिल्ला वैचारिक मतभेदका कारण पार्टी छाड्न बाध्य भएको उल्लेख गरेका छन्।

उनीहरूसँगै क्षेत्रीय सदस्य युवेन तुम्बा, क्षेत्रीय प्रतिनिधि राजकुमारी राई तथा क्रियाशील सदस्यहरू भोलामान ताम्ली, कृष्ण लिम्बु, जितबहादुर याख्या, भुपाल तुम्बा, देव ताम्ली, सोनी लिम्बु, टंक ताम्ली, चन्द्रकला तुम्बा, इन्द्र तुम्बा, विष्णुभक्त लिंखा, प्रविणा तुम्बा, सुजन लिम्बु, धनबहादुर तुम्बा, उदयबहादुर तेयुङ र सुरेन तुम्बाले पनि कांग्रेस परित्याग गरेको पत्रमा जनाइएको छ।

राजनीति र सामाजिक क्षेत्रमा सक्रिय यी नेताहरूको सामूहिक निर्णयले धनकुटाको राजनीतिक वृत्तमा विभिन्न चर्चा सुरु भएको छ। पार्टी छाड्ने निर्णयबारे प्रतिक्रिया दिँदै अञ्जना ताम्लीले वर्तमान अवस्थामा आफू पार्टीभित्र अटाउन नसकेको बताइन्। समयको परिवर्तनसँगै पार्टीभित्र आफ्नो भूमिका सीमित भएको अनुभूति भएको र आफूलाई साथ दिने नेता तथा कार्यकर्ताबाट समेत पार्टी छाड्न दबाब आएको उनको भनाइ छ।

ताम्लीले पार्टीभित्र रहेको ‘दास र लास’ राजनीतिक संस्कृतिमा आफू रहन नसक्ने उल्लेख गर्दै कांग्रेस नेता गगन थापाले उठाउँदै आएको राजनीतिक संस्कृतिसम्बन्धी बहससँग आफ्नो निर्णय जोडिएको बताइन्।

कांग्रेस परित्याग गरेका नेताहरूले तत्काल कुन राजनीतिक दलमा आबद्ध हुने भन्नेबारे भने कुनै औपचारिक जानकारी दिएका छैनन्। यद्यपि उनीहरू हर्क साम्पाङ राई नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गर्न सक्ने चर्चा सुरु भएको छ।