डोल्पामा लेदोसहितको बाढी गाउँ पस्दा एक महिलाको मृत्यु, ६ जना घाइते
सुर्खेत । डोल्पाको जगदुल्ला गाउँपालिकामा लेदोसहितको बाढी गाउँमा पस्दा एक महिलाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार आइतबार बिहान करिब ३ बजे निरन्तरको वर्षापछि धुलाखोला र आसपासका खोल्सामा आएको बाढी जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा पसेको थियो। बाढीले बगाउँदा ५६ वर्षीया आनन्दी विक गम्भीर घाइते भएकी थिइन्। उनको उद्धार गरी उपचारका लागि स्वास्थ्य चौकी लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ।
बाढीमा परी सोही गाउँका अन्दाजी ५० वर्षीय चाउरी विक, ४४ वर्षीय रेउली विक, ४८ वर्षीय विष्णु विक, १५ वर्षीया निरुता विक, १३ वर्षीया सीता विक र ६५ वर्षीय जस विक घाइते भएका छन्। घाइतेहरूको जगदुल्लास्थित झ्याकोट स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।
घाइतेमध्ये रेउली विकको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि जुम्ला रिफर गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी पदम रावलले जानकारी दिए।
घटनापछि प्रहरी चौकी माझगाउँबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा खटिएको टोलीले स्थानीयवासीको सहयोगमा घाइतेहरूको उद्धार गरेको थियो। साथै, जिल्ला प्रहरी कार्यालय डोल्पाबाट प्रहरी निरीक्षकको कमान्डमा थप पाँच जना प्रहरी, नेपाली सेनाका १० जना र सशस्त्र प्रहरी बलका ११ जना बिहानै घटनास्थलतर्फ परिचालन गरिएको प्रहरीले जनाएको छ।
डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले बाढीबाट भएको क्षतिको विस्तृत विवरण संकलन, थप उद्धार तथा राहत व्यवस्थापनका लागि प्रशासनले आवश्यक पहल गरिरहेको बताइन्।
