हावाहुरी अझ तीव्र हुनसक्ने चेतावनी, सतर्कता अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हावाहुरी अझै तीव्र हुन सक्ने सम्भावना रहेको भन्दै सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ।

शुक्रबार अपराह्न जारी सूचनामा काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा हावाहुरी चलिरहेकाले जोखिम बढ्न सक्ने उल्लेख गरिएको छ। प्राधिकरणका अनुसार आगामी केही घण्टामा हावाहुरी अझ बलियो हुन सक्ने आकलन गरिएको छ।

हावाहुरीका कारण सडक किनारका रुख ढल्ने, बिजुली तथा टेलिफोनका पोल भाँचिने, तार चुँडिने तथा जस्तापाताले बनेका छाना उड्ने जोखिम रहेको जनाइएको छ।

प्राधिकरणले अनावश्यक यात्रा नगर्न, हावाहुरी नरोकिँदासम्म सुरक्षित स्थानमै बस्न र विशेषगरी विद्यालय बस छुट्ने समय भएकाले बालबालिकाको सुरक्षामा ध्यान दिन आग्रह गरेको छ।

शुक्रबार दिउँसोदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षासँगै हावाहुरी चलिरहेको छ।