गृहमन्त्री अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्तिका लागि सिफारिस

काठमाडौं । नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य पदमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री सुशीला कार्कीको सरकारी निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका मुख्य निर्णयहरू सार्वजनिक गर्दै गृहमन्त्रीसमेत रहेका प्रवक्ता अर्यालले उक्त जानकारी दिएका हुन्।

बैठकले भदौ २३ र २४ गते भएका घटनासम्बन्धी जाँचबुझ आयोगले पेश गरेको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्ले उक्त प्रतिवेदन अध्ययन गर्नेगरी ग्रहण गरेको जनाएको छ।

यसैगरी युद्ध प्रभावित पश्चिमी एसियाली मुलुकहरूमा रहेका तथा ट्रान्जिटमा अलपत्र परेका नेपाली नागरिकको उद्धार र राहत कार्य प्रभावकारी बनाउन आवश्यक व्यवस्था मिलाउने निर्णय पनि गरिएको छ। त्यसका लागि नेपाली दूतावास रियाद, नेपाली दूतावास अबुधाबी, नेपाली दूतावास दोहा, नेपाली दूतावास कुवेत सिटी, नेपाली दूतावास मनामा, नेपाली दूतावास मस्कट, नेपाली दूतावास इस्लामाबाद, नेपाली दूतावास काइरो र नेपाली दूतावास तेल अबिबसँगै नेपाली महावाणिज्य दूतावास जेद्दा तथा नेपाली महावाणिज्य दूतावास दुबईलाई आवश्यक समन्वय गर्न भनिएको छ।

त्यसैगरी बैठकले नेपालका हिमनदी बेसिन क्षेत्रमा हिमताल विस्फोटजन्य बाढी तथा जलवायु परिवर्तनजन्य बाढीबाट उत्पन्न जोखिम न्यूनीकरणमार्फत जीविकोपार्जन र सम्पत्तिको संरक्षणका लागि हरित जलवायु कोषमार्फत संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) बाट प्राप्त हुने २ करोड ४२ लाख ६७ हजार ४२७ अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ।