यूएईमा रहेका नेपालीलाई अफवाह नफैलाउन दूतावासको आग्रह

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका नेपालीलाई सामाजिक सञ्जालमार्फत अफवाह नफैलाउन युएईस्थित नेपाली दूतावासले आग्रह गरेको छ।

दूतावासले जारी गरेको ‘एडभाइजरी–३’ मा यूएईको वर्तमान सुरक्षा परिस्थितिलाई ध्यानमा राख्दै संवेदनशील सूचना, भिडियो वा तस्वीर सामाजिक सञ्जाल वा अन्य डिजिटल माध्यममा पोस्ट, प्रसारण वा सेयर नगर्न नेपाली समुदायलाई अनुरोध गरिएको छ।

दूतावासका अनुसार यस्ता गतिविधिले सुरक्षा अवस्थाबारे भ्रम फैलिन सक्ने भएकाले सबैलाई जिम्मेवार ढंगले व्यवहार गर्न अपिल गरिएको हो। साथै यूएईमा बसोबास गर्ने सबैले त्यहाँको कानुनको पूर्ण पालना गर्नुपर्ने भन्दै गैरकानुनी वा अनुमतिविनाका गतिविधिमा संलग्न नहुन पनि सचेत गराइएको छ।

यस्ता गतिविधिमा संलग्न पाइए यूएईको कानुनअनुसार १ देखि ३ वर्षसम्म कैद सजाय र १ लाखदेखि २ लाख दिरामसम्म जरिबाना हुन सक्ने दूतावासले उल्लेख गरेको छ।

त्यसैगरी मिसाइल वा ड्रोन अवरोधका क्रममा जमिनमा खसेका अवशेष नजिक नजान, त्यसको तस्वीर नखिच्न वा सार्वजनिक नगर्न पनि दूतावासले आग्रह गरेको छ।

दूतावासले यूएई सरकारले जारी गरेका सुरक्षा मापदण्डको पूर्ण पालना गर्न तथा सत्य र आधिकारिक जानकारीका लागि सम्बन्धित सरकारी निकायका स्रोतहरू मात्र प्रयोग गर्न नेपाली समुदायलाई सुझाव दिएको छ। साथै अद्यावधिक जानकारीका लागि दूतावासको आधिकारिक फेसबुक पेज नियमित रूपमा हेर्न पनि अनुरोध गरिएको छ।

यूएईको परराष्ट्र मन्त्रालय यूएई, रक्षा मन्त्रालय यूएई, गृह मन्त्रालय यूएई, दुबई मिडिया अफिस, अबुधाबी मिडिया अफिस तथा इमिरेट्स न्युज एजेन्सीबाट जारी हुने आधिकारिक सूचनामार्फत मात्र जानकारी लिन पनि दूतावासले आग्रह गरेको छ।

दूतावासले यूएईमा रहेका सबै नेपालीलाई सचेत, सुरक्षित र जिम्मेवार भएर बस्न अपिल गरेको छ।