ओलीलाई दोष दिएर कोही उम्किन सक्दैन: शेरबहादुर तामाङ
काठमाडौं । शेरबहादुर तामाङले चुनावी हारको विषयमा केपी शर्मा ओलीलाई मात्रै दोष दिएर कुनै पनि नेता उम्किन नसक्ने बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले निर्वाचन परिणामबारे नेकपा एमाले भित्र विस्तृत समीक्षा हुने बताएका हुन्।
‘नेकपा एमालेका तर्फबाट जनमत स्वीकार गरेका छौँ। श्रद्धेय अध्यक्षले पनि स्वीकार गरिसक्नुभएको छ,’ तामाङले भने, ‘पार्टीभित्र यसको समीक्षा हुन्छ। कोही एक जना व्यक्तिलाई दोष लगाएर कोही पनि उम्किन पाउँदैन। म पनि उम्किन पाउँदिन।’
एमालेभित्र केही नेताले अर्को नेतालाई दोष दिएर आफू चोखो बन्ने प्रयास भइरहेको भन्दै उनले त्यस्तो प्रवृत्ति गलत भएको टिप्पणी गरे।
कसैले पद छाड्न चाहनु व्यक्तिगत विषय भए पनि दबाब दिएर नैतिकताको नाममा पद त्याग गर्न लगाउनु उचित नहुने उनको भनाइ थियो। ‘कसैले छाडेर केके न सिङ–जरो उम्रिहाल्छ भन्ने छैन,’ उनले भने, ‘सिंगो पार्टीको समग्र पक्षको समीक्षा गरेर निष्कर्ष निकाल्छौँ।’
निर्वाचनका क्रममा जनतामाझ जाँदा राम्रो स्वागत पाए पनि त्यो मतमा रूपान्तरण हुन नसकेको उनले स्वीकार गरे। ‘यस्तो सुनामीका बीचमा पनि हामीले पाएको मत सम्मानजनक मत हो,’ उनले भने।
आगामी दिनमा फेरि जनताको विश्वास जितेर नेकपा एमालेको पक्षमा जनमत उभ्याउने प्रयास गरिने तामाङले बताए।
