राष्ट्रपतिलाई बुझाउने निर्वाचन प्रतिवेदनको तयारी सुरु भइसक्यो : आयोग
काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिकूल अवस्थामा पनि निर्वाचन सम्पन्न गराउन खटिने राष्ट्रसेवक कर्मचारीप्रति आभार प्रकट गरेका छन् । निर्वाचनका लागि विभिन्न निकायबाट काजमा आयोगमा खटिएका कर्मचारीको मंगलबार बिदाइ समारोहलाई सम्बोधन गर्दै भण्डारीले आभार प्रकट गरेका हुन् ।
उनले भदौ २७ गते राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गर्दा निर्वाचन हुन्छ र ? भन्ने प्रश्न आम रूपमा उठेको स्मरण गरे । ‘भदौ २३ र २४ गतेको घटनापछि सुरक्षा पेचिलो विषय थियो,’ उनले भने, ‘निर्वाचन घोषणा भएको एक महिनासम्म पनि दलहरू एक ठाउँमा बस्न सक्ने अवस्था थिएन । आयोगले नै दलहरूलाई एकै ठाउँमा राखेर संवाद आरम्भ गराएको थियो ।’
अहिले निर्वाचनको परिणाम ल्याउन आयोग सफल भएको कार्यवाहक प्रमुख आयुक्त भण्डारीले बताए । निर्वाचन सम्पन्न गरेर राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने तयारीमा आयोग रहेको पनि उनले जानकारी दिए ।
आयोगका सचिव कृष्णबहादुर राउतले विभिन्न निकायबाट काजमा खटिई आएका कर्मचारीको ‘टिम वर्क’ ले तोकिएको समयमा निर्वाचन सम्भव भएको बताए ।
निर्वाचनमा खटिएका सबै राष्ट्रसेवक कर्मचारीकै कारण २३ हजार ११२ मतदान केन्द्र र १४३ वटा अस्थायी केन्द्रमा कुनै सामान्य खालका समस्या नभई निर्वाचन सम्पन्न भएको उनले बताए ।
निर्वाचनका लागि विभिन्न निकायबाट गरी १४१ कर्मचारी आयोगमै काजमा आएर काम गरेको प्रशासन शाखा प्रमुख एवं सहायक प्रवक्ता प्रकाश न्यौपानेले जानकारी दिए । निर्वाचन सम्पन्न भएसँगै सबै कर्मचारीको काज फिर्ता सुरु भएको उनले बताए । –रासस
