ग्यासमा कालोबजारी, वाणिज्य विभागले निगमसँग माग्यो आयात र आपूर्तिको विवरण
काठमाडौं । बजारमा पछिल्लो दुई महिनादेखि देखिएको खाना पकाउने ग्यास अभाव झन् चुलिँदै गएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल आयल निगमसँग ग्याससम्बन्धी विस्तृत विवरण मागेको छ ।
मंगलबार विभागले निगमसँग ग्यासको माग, आपूर्ति, उद्योग संख्या तथा अभावको कारणबारे विस्तृत जानकारी माग गरेको हो।
विभागका निर्देशक तथा सूचना अधिकारी नरहरि तिवारीका अनुसार ग्यास अभावको समस्या समाधानका लागि मंगलबार विभागमा विभिन्न चरणमा बैठक बसेको थियो। बैठकपछि निगमसँग एक वर्ष अवधिको माग र आपूर्तिको मासिक विवरण माग गरिएको उनले जानकारी दिए।
तिवारीका अनुसार विभागले उद्योगहरूको संख्या, उनीहरूलाई दिइएको पीडीओ, विशेषगरी काठमाडौं उपत्यकाको ग्यास माग र आपूर्ति कति छ भन्ने तथ्यांक समेत माग गरेको छ। साथै गत वैशाखदेखि हालसम्म कुन महिनामा कति ग्यास आपूर्ति भएको थियो भन्ने मासिक विवरण पनि पेश गर्न निगमलाई भनिएको छ।
उनले बुधबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको उपस्थितिमा थप बैठक बस्ने जानकारी दिँदै उक्त बैठकमा वर्तमान संकट समाधानका लागि ठोस कार्ययोजना सहित उपस्थित हुन निगमलाई निर्देशन दिइएको बताए। निगमलाई ‘संकट व्यवस्थापन योजना’ समेत प्रस्तुत गर्न भनिएको छ।
यसैबीच ग्यासको कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि रोक्न विभागले अनुगमन कडा बनाएको जनाएको छ। विभाग र आयल निगमका संयुक्त टोलीहरू बजार अनुगमनमा खटाइएको र तोकिएको मूल्यभन्दा बढी लिनेहरूमाथि कारबाही गर्ने तयारी गरिएको तिवारीले बताए।
उनका अनुसार आयल निगमले बजारमा ग्यास आपूर्तिमा समस्या नभएको बताउँदै आए पनि अनुगमनबाट भने केही स्थानमा अभाव देखिएको छ। उपभोक्ताबाट ग्यास नपाएको गुनासो बढेपछि विभागले निगरानी र अनुगमनलाई तीव्र बनाएको हो।
