निर्वाचनमा देशभर हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय

काठमाडौं । भोलि हुने प्रतिनिधिसभा निर्वाचनका लागि देशभर हेलिकप्टरमार्फत गस्ती गर्ने निर्णय गरिएको छ।

आज बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले सम्पूर्ण निर्वाचन क्षेत्रमा हवाई गस्ती (पेट्रोलिङ) गर्ने निर्णय गरेको हो।

गृह मन्त्रालयकी सह–प्रवक्ता रमा आचार्य सुवेदीले जानकारी दिँदै सेनाको हेलिकप्टरसँगै निजी कम्पनीका हेलिकप्टर पनि प्रयोग गरिने बताइन्। उनका अनुसार आवश्यक परे तुरुन्त परिचालन गर्न हेलिकप्टरलाई ‘स्ट्यान्डबाइ’ अवस्थामा राखिने निर्णयसमेत गरिएको छ।

उनले भनिन्, “भोलि देशभर हेलिकप्टरबाट पेट्रोलिङ गर्ने निर्णय भएको छ। सेनाको हेलिकप्टर मात्र प्रयोग गर्दा सबै क्षेत्रमा पुग्न कठिन हुने भएकाले अन्य कम्पनीका हेलिकप्टर पनि प्रयोग गर्ने निर्णय गरिएको हो।”

सुरक्षा समितिको यो निर्णय निर्वाचनलाई शान्तिपूर्ण, सुरक्षित र भयमुक्त वातावरणमा सम्पन्न गराउने उद्देश्यका साथ गरिएको जनाइएको छ।