रुकुमपश्चिममा उनेपाले गर्यो प्रलोपा उम्मेदवार शर्मालाई समर्थन

काठमाडौं । रुकुमपश्चिमबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका उज्यालो नेपाल पार्टी (उनेपा)का नरेन्द्र केसीले आफ्नो उम्मेदवारी निष्क्रिय गर्दै प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का उम्मेदवार जनार्दन शर्मालाई समर्थन गर्ने घोषणा गरेका छन्।

आज आयोजित संयुक्त पत्रकार सम्मेलनमार्फत दुवै दलका उम्मेदवारले उक्त निर्णय सार्वजनिक गरेका हुन्। सम्मेलनमा उनेपाका उम्मेदवार केसीले रुकुमको समग्र विकासलाई प्राथमिकता दिँदै आफ्नो उम्मेदवारी फिर्ता लिएको र प्रलोपा उम्मेदवार शर्मालाई समर्थन गरेको बताए। यसअघि नेकपा एमाले ले पनि शर्मालाई समर्थन गरिसकेको छ।

अब रुकुमपश्चिमको निर्वाचन प्रतिस्पर्धामा प्रलोपा उम्मेदवार जनार्दन शर्मासहित नेपाली कम्युनिस्ट पार्टी का गोपाल शर्मा, नेपाली कांग्रेस का राजु केसी र राष्ट्रिय स्वतन्त्र पार्टी का मानबहादुर शाही रहेका छन्।

पत्रकार सम्मेलनमा शर्माले रुकुमलाई विकास, सुशासन र समृद्धिको नमूना जिल्लाका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे। “मैले रुकुमलाई देशकै मोडल जिल्ला बनाउने दृष्टिकोण अघि सारेको छु। हाम्रो लडाइँ गरिबी र बेरोजगारीविरुद्ध हो। सुशासन र सामाजिक न्याय सुनिश्चित गर्दै रुकुमको भविष्य उज्ज्वल बनाउनु नै मेरो मुख्य लक्ष्य हो,” उनले भने।