तीनवटै सुरक्षा निकायको प्रतिबद्धता : निर्वाचन भयरहित र सुरक्षित रूपमा सम्पन्न गराउँछौँ
काठमाडौं । सुरक्षा निकायहरूले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई भयरहित, सुरक्षित र विश्वसनीय रूपमा सम्पन्न गराउन पूर्ण तयारी अवस्थामा रहेको बताएका छन्।
शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका प्रतिनिधिहरूले निर्वाचन सुरक्षाका लागि आपसी समन्वय र सहकार्यका साथ अघि बढिरहेको जानकारी गराएका हुन्।
राष्ट्रिय सुरक्षा परिषद्को बैठकबाट निर्वाचनलक्षित एकीकृत सुरक्षा योजना पारित भइसकेको उल्लेख गर्दै उनीहरूले सोही योजनाअनुसार सुरक्षा व्यवस्था कार्यान्वयन भइरहेको बताए।
नेपाली सेनाका सहायक रथी मनोज थापाले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नु मुलुकको अपरिहार्य आवश्यकता भएको उल्लेख गर्दै त्यसका लागि नेपाली सेना पूर्ण रूपमा तयार रहेको बताए। निर्वाचनका क्रममा उत्पन्न हुन सक्ने सम्भावित सुरक्षा चुनौतीहरूको विश्लेषण गरी आवश्यक तयारी भइरहेको उनको भनाइ थियो।
उनले निर्वाचनअघि सुरक्षा जोखिम हुनसक्ने क्षेत्र र समूहलाई लक्षित गरी सुरक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने जानकारी दिए। विगतमा रहेका अधिकांश बारुदी सुरुङ तथा विस्फोटक पदार्थ नष्ट भइसकेको बताउँदै कतै फेला परेमा सूचना प्राप्त हुनासाथ बम डिस्पोजल टोली परिचालन गरिने उनले स्पष्ट पारे।
“विगतका अधिकांश बारुदी सुरुङ तथा विस्फोटक पदार्थ नष्ट भइसकेका छन्। यदि कतै फेला परेमा सूचना आदान–प्रदानको आधारमा बम डिस्पोजल टोली परिचालन गरिन्छ,” उनले भने, “निर्वाचनलाई लक्षित गर्दै साना–साना टुकडी बनाएर संवेदनशीलताको आधारमा देशभर परिचालन गरिएको छ। हामी निर्वाचनका लागि पूर्ण रूपमा तयार छौँ।”
नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) उमाप्रसाद चतुरवेदीले विस्फोटक पदार्थ भेटिनु मात्र नभई नयाँ बम निर्माण गर्ने मानसिकता झनै खतरनाक भएको टिप्पणी गरे। पेट्रोल बम तथा रासायनिक पदार्थ प्रयोग गरी आन्दोलनलाई हिंसात्मक बनाउने प्रवृत्ति राष्ट्रिय सुरक्षाका लागि गम्भीर चुनौती भएको उनले बताए।
आगामी निर्वाचनलाई लक्षित गर्दै जिल्ला सुरक्षा समितिमार्फत लामो तथा छोटो दूरीका गस्तीहरू निरन्तर सञ्चालन भइरहेको जानकारी दिँदै उनले आपराधिक गतिविधि नियन्त्रण तथा फरार कैदीबन्दीको खोजीका लागि छुट्टै समिति गठन गरी काम भइरहेको बताए।
“निर्वाचनलाई सुरक्षित रूपमा सम्पन्न गर्न तीनवटै सुरक्षा निकायबीच भरपर्दो समन्वय कायम गरिएको छ,” उनले भने, “अपराधिक गतिविधि नियन्त्रण र फरार कैदीबन्दी खोजीका लागि समितिमार्फत निरन्तर प्रयास भइरहेको छ।”
सशस्त्र प्रहरी बल नेपालका अतिरिक्त महानिरीक्षक (एआईजी) गणेश ठाडा मगरले एकीकृत सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयनमा तीनवटै सुरक्षा निकाय सक्रिय रहेको उल्लेख गर्दै निर्वाचन भयरहित वातावरणमा सम्पन्न गरिने प्रतिबद्धता व्यक्त गरे।
निर्वाचन सुरक्षालाई थप सुदृढ बनाउन नेपाल प्रहरीले एक लाख ३४ हजार र सशस्त्र प्रहरीले १५ हजार निर्वाचन प्रहरी थप परिचालन गर्ने प्रक्रिया सुरु गरिसकेको उनले जानकारी दिए।
“हाम्रो जनशक्तिले नपुग्ने स्थानमा निर्वाचन प्रहरीमार्फत सुरक्षा व्यवस्थापन गरिन्छ,” उनले भने, “नेपाल प्रहरी र सशस्त्र प्रहरीले थप निर्वाचन प्रहरी परिचालन गर्ने प्रक्रिया सुरु गरिसकेका छन्। उनीहरूको सहयोगमा योजनाअनुसार सुरक्षा व्यवस्था लागू हुन्छ।”
सुरक्षा निकायका प्रतिनिधिहरूले आपसी समन्वय, अतिरिक्त जनशक्ति र लक्षित सुरक्षा रणनीतिमार्फत निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गराउने प्रतिबद्धता दोहोर्याएका छन्।
