कांग्रेस विवादबारे निर्वाचन आयोगः नजिकबाट निगरानीमा छ

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसभित्र देखिएको विवादलाई नजिकबाट निगरानी गरिरहेको जनाएको छ।

शुक्रबार आयोजित प्रेस ब्रिफिङमा आयोगले दलभित्रको विवाद आन्तरिक विषय भए पनि त्यसको विकासक्रमलाई ध्यानपूर्वक हेरिरहेको स्पष्ट पारेको हो।

पत्रकारको प्रश्नको जवाफ दिँदै आयोगका प्रवक्ता तथा सहसचिव नारायणप्रसाद भट्टराईले भने, “कांग्रेसभित्रको विवाद दलको आन्तरिक विषय हो। त्यसमा आयोग तत्काल प्रवेश गर्दैन, त्यसैले अहिले यसबारे केही भन्न सकिने अवस्था छैन। तर आयोगले यसलाई नजिकबाट हेरिरहेको छ।”

हाल नेपाली कांग्रेसभित्र नियमित र विशेष महाधिवेशनलाई लिएर विवाद चुलिएको छ। केही दिनअघि बसेको कार्यसम्पादन समिति बैठकले आगामी बैशाखमा नियमित महाधिवेशन गर्ने निर्णय बहुमतले पारित गरेको थियो।

तर विशेष महाधिवेशनको माग गर्दै आएको समूहले भने पुस २७ र २८ गते विशेष महाधिवेशन बैठक आह्वान गरेको छ। यस समूहलाई महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, उपमहामन्त्री फरमुल्लाह मन्सुरलगायत नेताहरूको समर्थन रहेको छ।

विशेष र नियमित महाधिवेशनसम्बन्धी विवाद निर्वाचन आयोगसम्म पनि पुगेको छ। केही दिनअघि विशेष महाधिवेशन पक्षधरहरूले आयोगमा पत्राचार गरेका थिए। यद्यपि आयोगले यस विषयमा हालसम्म औपचारिक धारणा सार्वजनिक गरेको छैन।

आयोगले यसलाई पार्टीको आन्तरिक लोकतन्त्रसँग सम्बन्धित विषयका रूपमा लिएको जनाएको छ। प्रवक्ता भट्टराईले पत्रकार सम्मेलनमा भने, “यो उहाँहरूको आन्तरिक लोकतन्त्रको विषय हो। अहिलेलाई यति नै भनौं।”