भेनेजुएला–अमेरिका तनाव : संयम हुन र सार्वभौमिकताको सम्मान गर्न नेपालको जोड

काठमाडौं । नेपाल सरकारले अमेरिका र भेनेजुएलाबीच बढ्दो तनावप्रति गहिरो चासो व्यक्त गर्दै सबै पक्षलाई अधिकतम संयमता अपनाउन आग्रह गरेको छ।

परराष्ट्र मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा तनावलाई थप चर्काउने कुनै पनि किसिमका कदम नचाल्न सबैलाई आह्वान गरिएको छ।

अमेरिकी सेनाले भेनेजुएलाको राजधानीसहित विभिन्न सहरमा आक्रमण गरी त्यहाँका राष्ट्रपति दम्पत्तिलाई नियन्त्रणमा लिएर न्यूयोर्कमा हिरासतमा राखेपछि दुई देशबीचको सम्बन्ध झनै तनावपूर्ण बनेको छ। यस घटनालाई लिएर विश्वका विभिन्न मुलुकहरूले चिन्ता र चासो व्यक्त गरिरहेका छन्।

यही सन्दर्भमा नेपालले बुधबार आधिकारिक विज्ञप्ति जारी गर्दै आफ्नो धारणा सार्वजनिक गरेको हो। विज्ञप्तिमा संयुक्त राष्ट्रसंघको बडापत्रअनुसार राज्यहरूको सार्वभौमिकता, भौगोलिक अखण्डता र राजनीतिक स्वतन्त्रताको पूर्ण सम्मान गरिनुपर्नेमा नेपालले जोड दिएको छ।

नेपाल सरकारले सबै प्रकारका विवादहरू संवाद, कूटनीति र आपसी समझदारीमार्फत शान्तिपूर्ण ढंगले समाधान गरिनुपर्ने स्पष्ट पारेको छ।